वर्षाले पोखरा–मुग्लिन सडकखण्ड विस्तारकाे काम प्रभावित

वर्षाले पोखरा–मुग्लिन सडकखण्ड विस्तारकाे काम प्रभावित


गण्डकी ।

वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ । वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ ।

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, “दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ ।” वर्षाकै कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनकाे भनाइ छ ।

आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए । पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन् । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार तयारीको काम भइरहेको छ । कुनै अवरोध नआएमा आगामी दुई वर्षभित्र आयोजनाको काम सम्पन्न हुने उनले बताउए ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए । हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

घाम लाग्दा सडक धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहज भएको छ । दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ । आयोजनाको पूर्वी खण्डमा पनि वर्षाका कारण सडक विस्तार र कालोपत्रको काम प्रभावित भएको छ । एकचालीस दशमलव ४५ किलोमिटर दूरीको पूर्वी खण्डमा हालसम्म ५१ प्रतिशत प्रगति भएको इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडक विस्तारको काम भइरहेको छ । कूल ८१ किमि दूरीको उक्त सडकको पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ ।