१ वर्षमा ७ हजारबढीले गरे आत्महत्या

१ वर्षमा ७ हजारबढीले गरे आत्महत्या


काठमाडौं ।

पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए ।

उक्त मुद्दामध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए ।

उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन् ।

यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरितका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध,चोरी,जवर्रजस्ती करणी,ज्यान मार्ने उद्योग,कर्तव्य ज्यान मुद्दा,साइवर अपराध,अपहरण,हत्यालगायतका घटनाहरु धेरै भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३.२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ ।

नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गैरहेको प्रहरी तथ्यांकले देखाएको छ । एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् ।

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको ढकालले बताए ।

‘कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१.२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ ।

अन्यमा मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी,बागमती,गण्डकी पनि छ । आत्महत्या संख्या सबैतिर बढिरहेको छ,’ प्रवक्ता ढकालले भने ।

आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुण्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको,पानीमा हाम फालेर मृत्युवरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन् ।