मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै

मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै


ताप्लेजुङ ।

ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो ।

मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।

सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए । सर्वेक्षणको काम सम्पन्न भएपछि प्रतिवेदन तयार पार्ने र सडक डिभिजनलाई बुझाइने उनले बताए ।

राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उनले बताए । सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । राजमार्ग स्तरवृद्धि तत्काल गराउने गरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उनको भनाइ छ ।

राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरीतका संरचना यसअघि नै भत्काइएका छन् । सडक डिभिजन कार्यालयले नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरालगायत संरचना भत्काइएका हुन् । सडकको दायाँबायाँ १५–१५ गरेर ३० मिटर कायम हुने गरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाइने सडक डिभिजन कार्यालयको योजना थियो ।

सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दायाँबायाँ साढे सात मिटरका दरले १५ मिटर कायम हुने गरी मापदण्डभित्र निर्माण भएका संरचना हटाइएका छन् । सडक फराकिलो बनाउने गरी संरचना हटाइएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् ।