सीआईबीमा २ घण्टा बयान दिएपछी विनोद चौधरीले भने-‘मेराे चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’

सीआईबीमा २ घण्टा बयान दिएपछी विनोद चौधरीले भने-‘मेराे चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’


काठमाडौं ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ ।

आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’

बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सिआइबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरूण चौधरीसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि)बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।

उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।

ब्युरोले विनोद चौधरीसँग दुई घण्टा बयान लिएको छ । विनोद पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।