राजनीतिक चपेटामा सामुदायिक विद्यालय, कक्षा १ देखि १२ सम्म ९ शिक्षकको भरमा

राजनीतिक चपेटामा सामुदायिक विद्यालय, कक्षा १ देखि १२ सम्म ९ शिक्षकको भरमा


महाेत्तरी ।

व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धराशायी बनेको छ ।

प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा २ राजनीतिक दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माद्यमिक विद्यालय अस्तव्यस्त बनेको हो ।

नगरले प्रधानाध्यापकका रूपमा झन्डै ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिका लागि मुख्य असन्तुष्टि बनेको हो ।

तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टि भन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरू अडिग रहेको दाबी गर्छन् ।

अध्यक्ष देवकोटा नेपाली कांग्रेस निकट मानिन्छन् भने नगर प्रमुख प्रह्लादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिका भए पनि स्वतन्त्र घोडा छापबाट निर्वाचित भएका हुन् । यद्यपि नगर प्रमुख क्षेत्रीसमेत अहिले कांग्रेसमा नै फर्किसकेका छन् ।

तर, घोडा कांग्रेस र कांग्रेसको लडाइँले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकका रूपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरूको ४ महिनादेखिकाे पारिश्रमिकसमेत रोकिएको छ ।

‘हामीलाई सिकारु हेडमास्टर भन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरका लागि केही नाम प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’

यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा १ देखि १२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानाध्यापक साहले बताए ।

विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरू स्थानान्तरण हुने क्रमसमेत जारी छ । १ वर्ष अघिसम्म झन्डै ९ सय हाराहारी विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सयभन्दा कममा झरेको छ ।

विद्यालयको वरपर दुइटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरूले टुटेश्वर र दमार भञ्ज्याङ विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै ८ जना शिक्षकहरूको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् ।

भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा देखिएको राजनीति दलहरूको स्वार्थ विद्यार्थीहरूमाथिको नै प्रहार भएको विद्यार्थीहरूको समेत आक्रोश छ । यही क्रममा गत बिहीबार विद्यार्थीहरूले आफूहरूको पढाइ राजनीतिक दलहरूको क्रिडास्थल बनेको भन्दै बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।

यस विषयमा नगर शिक्षा शाखामा बुझ्दा समस्याको निराकरण छिट्टै हुने नगर शिक्षा शाखा प्रमुख रेवतीप्रसाद पराजुलीले बताए । उनले नयाँ वा पुरानोका आधारमा भन्दा पनि क्षमताकाे कदर गर्नुपर्नेमा जोड दिए ।

यता नगरले प्रधानाध्यापकका रूपमा पठाएका प्रधानाध्यापक साहले औँला उठाउने गरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफूलाई निकाल्ने प्रपञ्चप्रति दु:ख लागेको बताए ।

उनले नगर प्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । ‘म मेयर साबको चेम्बरमा जाँदा हुलाकी नबन्नुस् भन्नुभयो,’ उनले भने ।

२०१४ सालमा स्थापना भएको उक्त विद्यालय लामो समयदेखि राजनीति गर्ने थलो बन्दै आएको छ, जसले विद्यालयको गौरवपूर्ण विरासत एकादेशको कथा बनाइदिएकाे छ ।