Logo

अन्तरघातीलाई कार्वाही गर्न रामचन्द्र ले दिएनन: सभापति देउवा



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नदिएको आरोप लगाउनु भएको छ ।

सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई निस्काशन नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको दावी समेत गर्नु भयो । निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको सभापति देउवाको दावी छ ।

आईतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीविहरुको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको पनि स्मरण गराउनु भयो । सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई चुनौतिको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो । उहाँले पार्टी भित्र आईपरेको चुनौति सामना गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील काँग्रेस बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले काँग्रेसलाई कामै गर्ने पार्टीको रुपमा स्थापित गराउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भयो ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण काँग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

महामन्त्री कोइरालाले गुटगत गतिविधि हुन नदिन पार्टीको सिंगो पंक्ति सचेत हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्