छात्रा बेहोस भएपछि विद्यालय बन्द

छात्रा बेहोस भएपछि विद्यालय बन्द


कपिलवस्तु ।

कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका-१ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।

पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने , रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए ।

बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए ।

विद्यालयमा समस्या देखिएपछि मनोविश्लेषकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताए । केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समयअघि सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै समस्या भएको थियो । छात्रामा देखिएको समस्या ‘मास हिस्टेरिया’ भएको चिकित्सकहरू बताउँछन् । छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरेमा समस्या आफैँ समाधान हुने मनोविश्लेषकहरूको दाबी छ ।