Logo

डिपीएल क्रिकेटको फाइनलमा काठमाडौं र धनगढी भिडने



काठमाडौं, चैत २९ – काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । पहिलो क्वालिफाएरमा टिम चौराह धनगढीसँग हारेको काठमाडौंले दोस्रो क्वालिफाएरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो ।

निकै खराव सुरुवात गरेको महेन्द्रनगरका लागि मध्यक्रमका ब्याटसम्यानले सम्हालिएर खेल्दै १ सय ४२ रन बनाएका थिए । कप्तान समेत रहेका ओपनर विनोद भण्डारीलाई शुन्य रनमा गुमाएका महेन्द्रनगरले त्यसपछि सात रन बनाउँदा थप दुई विकेट गुमायो । आसिफ शेख र हरिशंकर शाहले दुबैले खाता खोल्न सकेनन् ।

एकपछि अर्को विकेट गुमाउँदै दबावमा आएको महेन्द्रनगरको इनिङस उकास्न पुनित मेहराले र आरिफ शेखले ८५ रनको साझेदारी गरे । पुनितले ५८ तथा आरिफ शेखले ४३ रन बनाए । बलिङ तर्फ काठमाडौंका सन्नी पटेलले सर्वाधिक ६ विकेट लिँदा सुबोध भाटी र पुष्प थापाले १ –१ विकेट लिए । १ सय ४३ रनको लक्ष्य पछाएको काठमाडौंले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

काठमाडौंका लागि आक्रामक ब्याटिङ गरेका सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । अमित श्रेष्ठले २६, ज्ञानेन्द्र मल्ल २५, भुपेन्द्र थापा १५, पुष्प थापा ९, नटआउट रहेका नरेश बुढायर र सन्नी पटेलले ५ रन बनाए ।

अब फाइनलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स भिडनेछन् । ६ टोली सहभागि प्रतियोगिताको बिजेताले २५ लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्