मौसम पुनः बदली, बाजुरामा वर्षासँगै हिमपात

मौसम पुनः बदली, बाजुरामा वर्षासँगै हिमपात


काठमाडौँ ।

पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ ।

यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिइन्।

काठमाडौँ उपत्यकामा बादल लाग्न थालिसकेको पनि उहाँले बताउनुभयो । बिहीबार भने काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उहाँले जानकारी दिनुभयो । विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।

“यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ

यस्तै वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।

बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् ।