Logo

यी हुन काम नै नगरी तलब र भत्ता खाने कर्मचारी

माओवादी निकट यी कर्मचारीमाथि लालबाबुको नजर पर्ला !



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अहिले कर्मचारी समायोजनका बिषय कडा अडान राखिरहेका छन् । स्वेच्छिक अवकाशमा जाने कर्मचारीहरुलाई कानुन बनाएपनि स्वेच्छिक अवकाशमा जाने बाटो पण्डितले बन्द गरेका छन् । तर बर्तमन सत्तासंग रहेका कतिपय कर्मचारीहरु कामै नगरि तलब भत्ता खाने कर्मचारीहरु पनि छन् । यसरी कमै नगरि सत्ता र शक्तीका भरमा तलब भत्ता खाने कर्मचारीहरु मध्ये माओवादी निकट कर्मचारीहरुको रहेका छन् ।

विषय निजामती ट्रेड युनियनको हो । निजामती अर्थात् सरकारी सेवामा रहेका कर्मचारीहरूको संस्थागत हक हितका लागि भन्दै ७ वटा ट्रेड युनियनहरू सञ्चालित छन् । मुख्यतः यस्ता ट्रेड युनियन विभिन्न राजनीतिक पार्टीसँग आबद्ध भएका छन् । यस्ता ट्रेड युनियनका नेताहरूलाई राजनीति गर्न नेपाल सरकारले तलब र भत्ता दिइरहेको छ । अहिले विभिन्न राजनीतिक दल निकटका ५ वटा निजामती संघ र संगठनहरू तथा एउटा आधिकारिक ट्रेड गरी कुल ६ संगठनहरू निजामती ट्रेड युनियनका नाममा राजनीति गरिरहेका छन् ।  निजामती सेवा ऐनको दफा ५३ को उपदफा ४ मा निजामती कर्मचारीको ट्रेड युनियनको काम, कर्तव्य र अधिकारबारे स्पष्ट पारिएको छ ।

ऐनमा– ‘कर्मचारीको हक, हित संरक्षण एवम् संवद्र्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नुपर्ने । निजामती कर्मचारीको ट्रेड युनियनले भेला, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका रचनात्मक एवम् सिर्जनात्मक कार्यहरू सञ्चालन गर्न सक्नेछन् । निजामती कर्मचारीको ट्रेड युनियनलाई महासङ्घ गठन गर्ने, त्यसको सदस्य बन्ने, अन्तराष्ट्रिय संघ वा महासंघको सदस्य बन्ने र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार हुनेछ ।’ ऐनमा निजामति सेवा ऐनमा कामै नगरी नै तलब वा भत्ता खाने वा काजमा रहने भन्ने उल्लेख छैन ।

हरिबहादुर रावल


हरिबहादुर रावल अहिले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हुन् । यो संगठन सत्तारुढ दल माओवादी केन्द्रको भातृ सङ्गठन हो । रावलको पद खरिदार हो र यतिबेला बढुवाको चरणमा छन् । यसअघि वैदेशिक रोजगार विभागमा रहेका खरिदार रावल अहिले भने ट्रेड युनियन काजमा सामान्य प्रशासन मन्त्रालयमा छन् । उनले कुनै कार्यालयमा हाजिर गर्नु पर्दैन । मात्र आफ्नै सङ्गठनमा काम गरेको र सङ्गठनमै हाजिर गरेको कागज मिलाएर तलब खाने गरेका थिए । गएको माघ महिनादेखि भने रावलले सामान्य प्रशासन मन्त्रालयमै हाजिर गरेर तलब बुझिरहेका छन् । उनलाई कुनै मन्त्रालय वा विभागमा जिम्मेवारी तोकिएको छैन । रावलले ट्रेड युनियनकै राजनीति गरेर राज्यकोषबाट तलब र भत्ता बुझिरहेका छन् ।

प्रभासप्रसाद शाह


प्रभासप्रसाद शाह पनि माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका नेता हुन् । शाह यतिबेला सङ्गठनका महासचिव छन् । पेसाले उनी पशु सेवा प्राविधिक हुन् । यसअघि उनको दरबन्दी सर्लाहीको रञ्जितपुरमा रहेको बीउबिजन उत्पादन केन्द्रमा थियो । उनको मुख्य काम पशु स्वास्थ्यमा सुधार ल्याउन उन्नत प्रकृतिको घाँस उत्पादन गर्ने, बीउबिजन उत्पादन गर्ने र पशु बिरामी परेमा उपचार गर्ने पनि हो । अर्थात् उनी भेटिरिनेरी सहायक हुन् । तर शाह यतिबेला काठमाडौंमै बसेर ट्रेड युनियको राजनीति गरिरहेका छन् । शाह यतिबेला सामान्य प्रशासन मन्त्रालयमै हाजिर गरेर मासिक तलब र भत्ता बुझिरहेका छन् । ट्रेड युनियनको राजनीति गर्न सरकारले तलब र भत्ता दिइरहेको छ ।

रुक्म लामिछाने
यसअघि माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनमै अध्यक्ष रहिसकेका रुक्म लामिछाने पनि यतिबेला कुनै काम नगरी तलब बुझ्ने कर्मचारीमा पर्छन् । पेसाले लामिछाने इन्जिनियर हुन् । ओभरसियरबाट फाइल बढुवा अर्थात् २४ ‘घ’ बढुवा भई लामिछाने इन्जिनियर बनेका हुन् । यसअघि लामिछानेको दरबन्दी खानेपानी विभागमा थियो । तर ट्रेड युनियन राजनीतिको आडमा उनी कार्यालयमा कुनै काम नै नगरी जागिर खाइरहेका छन् । लामिछाने अहिले न त कर्मचारी सङ्गठनको पदाधिकारी छन्, न त आधिकारिक ट्रेड युनियनमा नै छन् । यद्यपि उनले पनि राजनीतिक दलको आडमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा बसेर कामै नगरी तलब खाइरहेका छन् । उनलाई अहिले कुनै जिम्मेवारी छैन, यद्यपि तलब र भत्ता भने बुझेकै छन् ।

अम्बादत्त भट्ट
अम्बादत्त भट्ट पनि माओवादी केन्द्रनिकट रहेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका उपाध्यक्ष हुन् । उनी पनि यतिबेला काम नगरी तलब र भत्ता बुझ्ने कर्मचारीको सूचीमा छन् । पेसाले उनी नापी सर्भेक्षक हुन् । अमिन अर्थात् खरिदारबाट सेवा सुरु गरेका भट्ट २०६७ सालमा बढुवा भई सर्भेक्षक अर्थात् नायब सुब्बा बनेका हुन् । यसअघि उनको दरबन्दी कैलालीको नापी कार्यालयमा थियो । त्यसपछि उनको दरबन्दी नापी विभाग, मिनभवमा सर्यो । तर ट्रेड युनियन राजनीतिमा लागेका भट्ट सङ्गठनको पदाधिकारी भएपछि काम नै नगरी तलब र भत्ता बुझ्नेमा पर्छन् । उनी ट्रेड युनियन काज अन्तर्गत अहिले सामान्य प्रशासन मन्त्रालयमा छन् । पेसाले सर्भेक्षक रहेका भट्ट खासमा जग्गाजमिनको नापजाँच हुने क्षेत्रमा भेटिनुपर्ने हो, तर ट्रेड युनियन राजनीतिले उनलाई नेता बनाइदियो र यतिबेला उनी सङ्गठनको काम गरेर उतै हाजिर गरी तलब बुझ्ने गर्छन् ।

अम्बिका धमला
ट्रेड युनियन काजमा रहेर कामकाज नै नगरी तलब, भत्ता बुझ्ने अर्का निजामती कर्मचारी हुन् अम्बिका धमला । उनी माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामतीको उपाध्यक्ष हुन् । पेसाले उनी सहायक महिला विकास निरीक्षक हुन् अर्थात् पदले खरिदार । ट्रेड युनियन काजमा रहनुअघि धमलाको दरबन्दी बाराको महिला विकास कार्यालयमा थियो । तर ट्रेड युनियन राजनीतिमा आएलगत्तै उनी काठमाडौंमा सरुवा भइन् । खासमा उनको काम ग्रामीणक्षेत्रका महिलालाई एकीकृत बनाई समूह गठन गर्ने, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक हैसियत बढाउनका लागि प्रशिक्षण दिने र सहजीकरण गर्ने हो । ग्रामीणक्षेत्रका महिलाहरूको समूह गठन गरी सरकारीतर्फबाटै केही लगानी गरी आयआर्जन काममा लगाउने आर्थिक उपार्जन गराउने हो । जिम्मेवारीअनुसार यतिबेला धमला ग्रामीणक्षेत्रमा महिलाहरूलाई सुसुचित गराउँदै हिँडेको हुनुपर्ने हो । तर यथार्थमा उनी ट्रेड युनियन राजनीतिको नाममा सामान्य प्रशासन मन्त्रालयमै कहिलेकाहीँ हाजिर गरेर तलब खाइरहेकी छिन् ।

उमेशप्रसाद यादव
राजनीतिको आडमा काम नै नगरी तलब भत्ता खाने अर्का ‘राष्ट्रसेवक’ कर्मचारी हुन्, उमेशप्रसाद यादव । उनी पनि माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामतीका उपाध्यक्ष हुन् । उनी पनि यतिबेला ट्रेड युनियन काजको नाममा राजनीति गरिरहेका छन्, सामान्य प्रशासन मन्त्रालयमा हाजिर ठोकेर । उमेशप्रसाद यादव पेसाले पशु सेवा प्राविधिक हुन् । यदि सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएको थियो भने उनी यतिबेला ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य र उत्पादन वृद्धिमा काम गरिरहेका हुन्थे । तर उनलाई पनि सरकारी तलब दिएर राजनीति गर्ने छुट दिइएको छ । ग्रामीणक्षेत्रमा पशुको स्वास्थ्य, घाँस उत्पादन आदिमा खट्नुपर्ने व्यक्ति यतिबेला सामान्य प्रशासन मन्त्रालयमा ट्रेड युनियन काजमा छन् । ट्रेड युनियन काजमा आउनुअघि यादव पशु सेवा विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्