Logo

नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा



इलाम ।– सरकारले शनिबार विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ।  जिल्लाका चिया किसान र उद्यमीले केही ठूला उद्योगीको पुरानै लोगोलाई ‘नयाँ लोगो’ भन्दै सार्वजनिक गर्नु हास्यास्पद र एकाधिकार बजारको सूचक भएकोसमेत गुनासो गरेका हुन् ।  हजारौं चिया किसान र उद्योगीसँग सल्लाह नै नगरी लोगो कार्यान्वयनमा ल्याउनु उचित नभएको उनीहरूको भनाइ छन्।

साना किसान र उद्यमीले ठूला उद्योगीले बजारमा एकाधिकार जमाउन आफ्नै लोगो साना किसान र उद्योगीमाथि लाद्न खोजेको आरोपसमेत लगाएका छन् । उनीहरूले प्रतिस्पर्धाबाट छानिएको ‘राष्ट्रिय प्रतीक चिह्न’लाई लत्याएर बिनाप्रतिस्पर्धा ठूला उद्योगीको लोगो थोपर्न लागिएको भन्दै ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयज’ लेखिएको लोगो आफूहरूको चियामा प्रयोग नगर्ने बताएका हुन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार सगरमाथाको आधार शिविरमा विभिन्न देशका व्यापारीलाई चिया चखाएर नेपालको ब्रान्डका रूपमा यो लोगो सार्वजनिक गरेको थियो । तर, सयौं किसानले असन्तुष्टि जनाउँदाजनाउँदै त्यसको बेवास्ता गरी लोगो सार्वजनिक गर्नु हास्यास्पद भएको चिया किसान र उद्यमीको भनाइ छ।

जिल्लामै सबैभन्दा बढी चार दर्जन चिया उद्योग रहेको सूर्याेदय नगरपालिकाले यसअघि नै कृषि मन्त्रालयलाई १३ बुँदामा असहमति र ६ बुँदे लिखित सुझाव पठाएर यो लोगो कार्यान्वयनको निर्देशिका संशोधन गर्न आग्रह गरेको थियो । तर, नगरपालिकाको पत्रलाई बेवास्ता गर्दै बोर्डले जवर्जस्त रूपमा लोगो लाद्न खोजेको नगरपालिकाका मेयर रणबहादुर राईले बताए।

नेपालमै सबैभन्दा बढी अर्थाेडक्स चिया उत्पादन गर्ने सूर्याेदय नगरपालिकाका साना किसान र उद्यमीले गत माघमा भएको भेलामा यो लोगो प्रयोग गर्दा ठूला उद्योगको एकाधिकार रहने, प्रतिस्पर्धाबाट ल्याइएको र प्रचलनमा रहेको लोगो बिनाकारण विस्थापन गरी बोर्डले पुनः नयाँ लोगो ल्याउनुको औचित्य नभएको बताएका थिए।

नगरपालिकाले गत माघ ७ मा कृषि मन्त्रालयलाई पत्र पठाएर लोगो कार्यान्वयन निर्देशिकाले चिया व्यवस्थापनको जिम्मा लिएको बोर्डलाई कमजोर पार्न खोजेको, केही निजी संस्थाहरूको सिन्डिकेटको सम्भावना रहेको, यही लोगो आधिकारिक हो भनी पुष्टि गर्ने आधार बोर्डको २०४९ को ऐनसँग नमिलेको, हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले तेस्रो मुलुकमा प्रयोग गरिरहेकै लोगो नेपाली ब्रान्डका रूपमा ल्याउन लागिएको प्रतिक्रिया दिएको थियो।

नगरपालिकाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यो लोगो कुनै प्रतिस्पर्धाबाट नआएको र स्थानीय तह, चिया व्यवसायी, किसान, उद्योगीसँग छलफल नगरी ल्याइएको हुनाले शंका गर्ने ठाउँ प्रसस्त छ । केन्द्रीयस्तरका चिया व्यवसायी संघमध्येबाट दर्ता र मितिको वरिष्ठताका आधारमा समितिको सदस्य रहने भन्ने बुँदाले एउटै मात्र संस्थाको प्रतिनिधित्व रहने देखिन्छ।’

नगरपालिकाका मेयर राईले शनिबार सार्वजनिक लोगो सूर्याेदय नगरका साना चिया किसानले प्रयोग नगर्ने बताए । ‘यो नपामा ४८ भन्दा बढी चिया कारखाना छन् । तर, कसैसँग सल्लाह नै नगरी अर्काेले प्रयोग गरिरहेको लोगोलाई नै नेपालको ब्रान्ड बनाउनु दुखद छ,’ राईले भने, ‘कसैको व्यक्तिगत इन्ट्रेस्टमा यो लोगो आएको छ ।’ उनले चिया किसान र व्यवसायीले चियाको अन्तर्राष्ट्रिय लोगो खोजिरहेको भएपनि सहमति नै नजनाएको प्रतीक नै जबर्जस्त ल्याइएको बताए।

चिया विकास बोर्ड, होट्पा, केन्द्रीय चिया सहकारी संघलगायत चिया क्षेत्रमा काम गरिरहेका सरकारी र निजी संस्थाको समन्वयमा लोगो तयार भएर आएको हो । तर, केन्द्रीय चिया सहकारी संघमा आबद्ध सहकारीकर्मी उद्यमीले समेत अहिले ल्याइएको लोगोप्रति असहमति रहेको जनाए।

संघका सदस्य तथा इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भने, ‘हामी चिया किसान र उद्यमी कसैसँग सल्लाह नै नगरी ल्याइएको लोगो हाम्रो चियामा चाहिँ लगाउने छैनौं । ठूला कारखानाको एकाधिकार रहने गरी नीतिगत व्यवस्था गरेर लोगो ल्याउनु आपत्तिजनक छ ।’ उनले लोगो बनाउन र सार्वजनिक गर्न लागिपरेकाहरूलाई आफूहरूले ‘अहिले सार्वजनिक गरेको भनिएको लोगो लिएर सूर्योदय नगरपालिकातिर चाहिँ नआउनू’ भनिसकेको बताए।

तीनजुरे चिया उत्पादक सहकारीले पनि लोगोको विषयमा धेरै सहकारी र किसान असहत रहेको जनाएको छ । सहकारीका सरद तिम्सिनाले पहिल्यै अरूले प्रयोग गरेको र अब प्रयोग गर्दा पनि एउटै मात्र संस्थाको अधिकार रहने गरी निर्देशिका बनाएर ल्याइएको लोगोप्रति आफूहरूको असन्तुष्टि रहेको जनाए । सूर्याेदय नपाका मेयर राईले लोगो कार्यान्वयन निर्देशिकाका धेरैवटा बुँदा सच्याएर, प्रतिस्पर्धाबाट अर्काे लोगो ल्याएर मात्र प्रयोग गर्न किसानले सुझाव दिएको बताए।

बोर्डले भने लोगो प्रयोगको मर्मलाई गहिराइसम्म अध्ययन नै नगरी किसान र उद्योगीले असन्तुष्टि जनाएको प्रतिक्रिया दिएको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले निर्देशिकामा भएको मापदण्ड पूरा गरेको चियालाई मात्र लोगो प्रयोग गर्न दिने बताए।

‘सरकारी निकायबाट नेपाली चियाको साझा ब्रान्डका रूपमा यो लोगो ल्याइएको हो,’ उनले आइतबार नागरिकसँग भने, ‘लोगो बनाउने कुरा प्राविधिक भएकाले सबैलाई सोधेर बनाउने पनि होइन ।’ कार्यकारी निर्देशक गौतमले यसअघि कसैले प्रयोग गरिरहेको लोगो नै पुनः ल्याइएको भन्ने किसान र उद्यमीको गुनासो उचित नभएको बताए । ‘कसैले प्रयोग गरेकै लोगो अहिले सरकारी लोगो भएको छ त के भो र ?’ उनले भने, ‘आफूले प्रयोग गरिरहेको लोगो सरकारलाई दिनुले अब यो लोगो प्रयोग गर्नेहरूले सरकारलाई निश्चित राजस्वसमेत बुझाउनुपर्छ भन्ने होइन र ?’

उनले होट्पाले नै प्रस्ताव गरेको लोगो नेपाली चियाका लागि योग्य लागेर अन्य लोगो बनाउन प्रतिस्पर्धा नगराएको बताए । ‘म बोर्डमा आउनुअघि नै बोर्डले अर्काे लोगो बनाएको रहेछ तर त्यो लोगो प्रयोग गर्न कोही आउनुभएन, त्यसैले नयाँ लोगो ल्याइएको हो,’ उनले भने।

    नेपालमा १९२० सालमा चिया खेती सुरु भएपनि दार्जिलिङको चियाका रूपमा मात्रै अन्य मुलुक निकासी हुने गरेको थियो । केही अर्गानिक उत्पादकले भने भारतसहित तेस्रो मुलुकसम्म पुर्‍याएर आफ्नो उत्पादन बेच्दै आएका थिए । सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक अर्थाेडक्स चियाको पहिचान दिलाउन लोगो तयार गरी कार्यान्वयनमा ल्याएको हो । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ पनि जारी गरेको थियो।

निर्देशिकामा नेपाली चियाको लोगो बोर्डमा आबद्ध अन्तिम उत्पादकले प्रयोग गर्न पाउने व्यवस्था छ । प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै लोगो प्रयोग गर्न दिने व्यवस्था यसमा छ । प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी चार सर्त निर्देशिकाले व्यवस्था गरेको होट्पाले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts