Logo

‘मेरा स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खडका’



नियतिले कात्तिक १५, ०५९ मा खुमबहादुर खड्का र मलाई थुनाको एउटै कोठामा पुर्‍यायो। पूर्व गृहमन्त्री खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेका कारण हामीसँगै थुनिएका छौँ। थुनाको हाम्रो यो सहयात्रा आजदेखि प्रारम्भ भएको छ। यहाँ खुमबहादुरजी र म लगभग १५×१२ फिटको एउटा कोठा (जसलाई प्रहरीहरूले आफूहरू बस्न प्रयोग गर्थे)मा बसेका छौँ। माटोको सतह मुन्तिर बनेको तहखाना जस्तो यस कोठामा दिनमा एकरढेड दिनको घण्टा जति झारपातबाट छानिएको घाम आउने गरेको छ। यो कोठाको दक्षिण तिरको एउटा आधामात्र खुल्ने झ्यालबाट बिहानीपख बाहिरी सडकपेटीमा फलफूल र तरकारी किन्नेहरूको घुइँचोको झिनो गतिविधि मात्र देखिँदा, समाजको बाँकी गतिविधिका सबै पक्षबाट हामी वञ्चित छौँ भन्ने आभास पाइन्छ। यो कोठाको फलामे ढोकाबाहिर सँगै जोडिएको सानो चर्पी छ, जहाँको घोर दुर्गन्धले नुहाउन र मुख धुन पनि सम्भव छैन। त्यसका लागि हामी माथिल्लो तलास्थित प्रहरी जवानहरूले प्रयोग गर्ने चर्पीलाई प्रयोग गर्न दिन अनुरोध गरेका थियौँ।

एक प्रहरी जवानले खुमबहादुरजीलाई खबर गरेछन्, ‘त्यसो गर्न मिल्दैन’ भनेर। कोठामा एक दुर्इ वटा कपडा झुण्ड्याउने ह्यांगरको व्यवस्था भएको छ, मिनरल वाटरको बोतललाई बीचबाट आधा काटेर स्ट्रे बनाएका छौँ। खुमबहादुरजी भन्नुहुन्छ, ‘जेपीजी, किन यी सब गरिरहनु भएको ? कति नै बस्नु पर्छ र ?’ तर मलाई लाग्छ,हामी चाँडै छुट्दैनौँ। झ्यालमा प्रायः प्रहरीले प्रयोग गर्ने नीलो रंगको पर्दा लगाइको छ। छिनछिनमा पर्दा उघारेर प्रहरीहरूले हेर्ने गरेका हुन्छन्। यसबाट ड्युटीवाल प्रहरी जवानहरूको दृष्टि कोठाको गोपनीयतामा आक्रमणबाट सुरक्षित हुने अवस्था छैन। तैपनि हामी सन्तोषका साथ बसेका छौँ। सीमित रूपमै भए पनि सानातिना व्यवस्था मिलाएर हाम्रो थुना गृहस्थी चलाउन सुरू के गरेका थियौँ–हामीलाई एक्कासि, बिनाकारण, त्यसमा पनि मध्यरातिको समयमा थुना सार्ने भनी आएको आदेशले वास्तवमा हुण्डरीमा परेको चराको गुँडझैं भएको थियो, हाम्रो थुना गृहस्थी। तर, यो परिस्थिति तत्काल हाम्रालागि छलफलको विषय हुन सक्दैनथ्यो।

अचानक बदलिएको अवस्थामा झिटीगुण्टा बाध्नु र घरमा यस अनपेक्षित बसाइँसराइको खबर गर्नु नै तत्कालको मुख्य विषय थियो। यस्तो अवस्थामा अनामनगर थुनाका इन्चार्जलाई कृपापूर्वक घरमा खबर गरिदिने अनुरोधका साथ हामी अर्को बसाइका निम्ति यात्रामा लाग्यौं। हाम्रो सानो यात्राको अन्त्य केही बेरपछि नै महाराजगञ्जस्थित सशस्त्र प्रहरी गण नं. २ मा भयो। महाराजगञ्जस्थित वीरेन्द्र प्रहरी अस्पतालको पछाडि भागमा रहेको सशस्त्र प्रहरी बलको २ नं.गण हाम्रा लागि नयाँ थियो।

गृहमन्त्रीका रूपमा स्वयं खुमबहादुर पनि यहाँ कुनै पनि औपचारिक कार्यवस आउनुभएको थिएन। यहाँ हाम्रो बस्ने व्यवस्था कार्यालय भवनकै पहिलो तलाको एउटा कोठामा गरिएको छ। केही बेरमै हामीले थाहा पायौं, आजै बिहान हामीलाई यहाँ ल्याउने जानकारी आएपछि यस कोठालाई सकभर प्लास्टिकको टाट ओछ्याएर, एउटा सोफा, दुर्इवटा बेड र सरसफाइ गरेर अपेक्षाकृत सुविधाजन्य बनाइएको रहेछ। यहाँ आइसकेपछि खुमबहादुरजीलाई पनि लाग्यो, अब हामी लामो समयसम्म थुनामै बस्नुपर्ने हुन्छ। सिंहदरबार थुनाको तुलनामा यो स्थान अपेक्षाकृत सुविधाजनक नै हो। पहिलोपटक झट्ट प्रवेश गर्दा काठमाडौंमा डेरा गरी बस्ने सानो तहको कर्मचारीको बेडरूम कम बैठक कम भान्साजस्तो देखिने यस कोठामा हाम्रा लागि सबैभन्दा सुविधाजन्य पक्ष सानो तर टाँसिएकै बाथरुम हो। यसअघि अफिसको रूपमा रहेको यस कोठालाई बन्दीगृहमा रूपान्तरण गर्न खास प्रकारका प्रयासहरू गरिएका छन्। सायद यस्का केही भिन्नै तौर तरिकाहरू हुन्छन्।

कोठाका झ्यालहरूमा रहेका ‘भेन्टिलेसन’का खापाहरूमा ग्रिल नभएकाले क्रुरतापूर्वक किला ठोकेर त्यसलाई बन्द गरिएको छ। बाथरुमको भित्रि भागबाट ढोका बन्द गर्न लगाइको छेस्कनी उखेलिएको छ। मूल ढोकाको छेस्कनीलाई पनि बलपूर्वक उखेलिएको छ। छतमा बिजुलीपंखा झुण्ड्याउन लगाइएको अंग्रेजीको ‘यू’ आकारको हुकलाई हथौडाले हिर्काएर छत तिरै मोडिएको छ। निराशाले विक्षिप्त भएर हामी झुण्डिएर आत्महत्या गर्न नसकौँ भनेर यसो गरिएको होला। राम्रो कोठालाई यसरी दुःखपूर्वक थुनुवा कोठामा रूपान्तरण गरिएको प्रष्टै देखिन्छ। यसका अतिरिक्त हाम्रो विशेष निगरानीका लागि छुट्टै प्रहरीको व्यवस्था गरिएको छ। हालै भर्ना भएका केही युवा र अनुभवी अधिकृतहरूलाई समेत खटाइएको छ। तत्कालका व्यवस्थाका लागि यस गणका गणपति एसपी र अन्य अधिकृतहरू आएका थिए। वास्तवमा हामीप्रति उनीहरूको चासो प्रशंसनीय छ।

बास–व्यवस्था आदि सुविधाका सम्बन्धमा उनीहरू बडो फरासिला देखिए तर भरे भोलि बिस्तारै सोध्नुपर्ने एउटा कुरा मैले पहिलो भेटमै सोधेर आफूलाई दुखित तुल्याइसकेको छु। मैले सोधेको थिए, ‘हामीलाई भेटघाट गर्न दिनेबारे के नीति छ?’  उनीहरूले रत्ति पनि अपठ्यारो नमानी भने, ‘माथिको आदेशबिना यो सम्भव छैन।’ वास्तवमा रातका वेला निर्क्योल गर्नुपर्ने विषय यो थिएन। जे होस्, बासका लागि भने आज लगभग यो कोठाका सबै व्यवस्था पूरा भएका छन्। हामीले पनि अब थप अन्यथा नभए यहीको परिवेशमा आफ्ना दिनचर्यालाई नियमित गर्न चाहेका छौँ। तर, बिहान सबेरै यो साँघुरो सानो कोठामा थप एक खाट हुलियो। खुमबहादुर जीले प्रहरी भाइलाई सोध्नुभयो, ‘को आउने हो ?’ विचरा उनलाई थाहा थिएन। पछि थाहा भयो, खाट चिरञ्जीवी वाग्लेका लागि थियो। उहाँलाई यहीँ ल्याइयो।

मलाई र खुमबहादुर खड्कालाई अनामनगरस्थित विशेष अदालतमा प्रस्तुत गरियो। हाम्रा वकिलहरूले अनुसन्धानका लागि थुनामा राख्नु नपर्ने तर्कका साथ सामान्य तारेखमा वा धरौटीमा रिहा गरीनुपर्ने बहस गरेका थिए। यद्यपि, वर्तमान अवस्थामा अदालतले हामीलाई तारेखमा वा धरौटीमा छोड्ने कुराको मलाई कुनै आशा थिएन। हामीलाई अदालतमा पुर्‍याइँदा त्यहाँ ठूलो संख्यामा स्थानीय प्रेसको उपस्थिति थियो। केही दिनदेखि यहाँका अखबारहरू संसदीय राजनीतिविरुद्ध बनाइएको जनमतबाट बढी प्रभावित भएका छन्। यसको प्रभावस्वरूप प्रेसले हामीलाई त विरोधको तारो नै बनाएको छ। हामीलाई पक्राउ गरिएको राजनीतिक मनसाय बुझ्नुको साटो सर्वत्र अख्तियारको वाहवाही भइरहेको छ। विशेष अदालतमा लामो बहस भयो। अदालतले हामीहरूलाई थप २५ दिन थुनामा राख्ने आदेश सुनायो। यसबाट म खासै आश्चर्यमा छैन। यस निर्णयलाई अदालतमा उपस्थित कतिपय मित्रहरूले हाल मुलुकमा सिर्जना गराइएको भ्रष्टाचारविरोधी जनमतको प्रभाव भएको राय व्यक्त गरेका थिए। बहसका दौरान हामीबाट भ्रष्टाचार भएको कुनै ठोस विषयमा भन्दापनि अख्तियारले खडा गरेको प्रचारको मात्रा बढी सशक्त रहेको अनुभव भयो।

अख्तियारले सिर्जेको यस्तो प्रचारको प्रभावबाट अक्षुण्ण रहनुपर्ने अदालतजस्ता निकायहसमेत प्रभावित हुँदै गएको डरलाग्दो परिस्थिति बन्न थालेको मलाई आभास भएको छ।  अब खुमबहादुरजी पनि भन्न थाल्नु भयो, ‘लामै बस्नु पर्छ क्यारे! बरु हामीलाई जेलमा सारियोस्।’ तर, अहिले हामी अख्तियारको थुनुवा भएकाले यो सम्भव नभएको मेरो तर्क छ। राजाले असोज १८ गते शासनसत्ता आफ्नो हातमा लिएपछि लोकेन्द्रबहादुर चन्दको सरकारलाई मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने, प्रतिनिधिसभाको निर्वाचन गराउने, सबै तहबाट भ्रष्टाचार हटाउने जस्ता जिम्मेवारी दिएका छन्। यो नेपाली जनताले तत्कालै ठम्याउन नसक्ने राजाको ठूलो पाखण्ड हो। बयानको क्रममा अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो सेखी देखाउँदै मलाई भनेका थिए, ‘राज्य चलाउन राजनीतिक दलहरूको कुनै एजेण्डा भएन। त्यसैले राजाद्वारा केही निश्चित एजेण्डा निर्धारण गरेर राज्यको कार्यकारिणी अधिकार लिइएको हो। यिनैमध्ये भ्रष्टाचार हटाउने राजाको एउटा मुख्य एजेण्डा हो। तसर्थ राजाको सदासयतालाई साकार पार्न हामी कारबाही गरेरै छोड्छौं।’ सूर्यनाथका सबै कुराहरू म बडो रमाइलो मानेर सुनिरहेको हुन्थे। सायद शाखा अधिकृत वा अझ त्यसभन्दा पनि तलको तहमा रहँदादेखि मजस्ता राजनीतिक मानिसहरूका अगाडि नतमस्तक रहँदै आएका सूर्यनाथ आज सजिलै राजनीतिक मानिसहरूलाई स्वेच्छाको भरमा थुन्न सक्ने अवस्थामा पुग्दा देखाउने व्यवहारलाई वित्थामा के को अहंकार भन्नु।

मैले सामान्य रूपमा नै लिएको छु। तर, यसबाट भने अब मुलुकमा राजाको यस्तो इच्छालाई मूर्तरूप दिन हाल कतिपय सूर्यनाथहरू जन्मेको र तम्सेको विषयमा मलाई कुनै शंका रहेन। आजभोलि सूर्यनाथ अख्तियारको प्रमुख नियुक्त भएको विषयमा विभिन्न प्रकारका चर्चा चलेका छन्। यस विषयलाई लिएर कांग्रेसका मानिसहरू आपसमा शंका उपशंका पनि गर्दैछन्। कसैले महेश आचार्यलाई त कोहीले सुशील कोइरालालाई दोषी देख्दैछन्। तर, मलाई लागेको छ, यी सब कुराहरू एउटा भिन्नै एजेण्डाअनुसार सम्पादित भएका हुन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताको लगत्तैपछि शक्ति गुमाएका राजा र जनआन्दोलनकारी जनताका सरकारको बीच सार्वजनिक रूपमा देखिएको पहिलो विवाद नै संविधान निर्माण गर्ने आयोगका बारेमा भएको हो। त्यसबेला राजाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तथा अन्य दलहरूको परामर्शबेगर नै विश्वनाथ उपाध्यायको अध्यक्षतामा आफू खुसी एक आयोगको घोषणा गरेका थिए। यसमा होराप्रसाद जोशीहरू पनि थिए।

यसमा राखिएका कतिपय मानिसहरूलाई पछि विवादका कारणले हटाइयो। जनआन्दोलन पछिको राजा र जनताको बीचको यो पहिलो विवादित विषयको रूपमा सामुन्ने आएको आयोगमा यिनै सूर्यनाथ उपाध्याय राजाबाट सदस्यसचिव राखिएका थिए। संविधानको निर्माताहरू सरह नै। राजाबाट एक्कासि भएको यस घोषणको सबैभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिकरूपमा विरोध गरेका थिए र त्यसपछि मात्र यो मुद्दा बन्यो। गणेशमानजीले राजाको यो कदमलाई जनआन्दोलनको मनसायविपरीतको कार्य भनी रोष व्यक्त गरेपछि यसको समाधानस्वरूप राजाबाट यो आयोगलाई फिर्ता लिइयो र सरकारको सुझावअनुसार अर्को आयोग घोषणा भयो, जसमा केही महत्त्वपूर्ण हेरफेर भयो। यो हेरफेरमा यिनै सूर्यनाथ उपाध्याय सदस्य–सचिवबाट हटाइए। उनीपछि आयोगमा सहयोगी कर्मचारीको रूपमा मात्र रहे।

यसबाट सन्देहरहित रूपमा पुष्टि हुन्छ कि सूर्यनाथ मुलुकमा प्रजातन्त्र आएकै दिनदेखि प्रजातन्त्रलाई अफाप सावित गर्ने अभियानका भरपर्दो पात्र हुन्। भलै उनको यो पछिल्लो नियुक्ति कसैको इसारामा जोसुकैले गरेको होस्। त्यसैले आज मुलुकमा राजाको इच्छाअनुसारको परिणामहरूलाई हासिल गराउने काममा एउटा निर्धारित एजेण्डालाई सम्पादन गराउने दायित्व यिनको जिम्मामा पनि परेको छ। आज संयोग भनौं वा जे, हामी पनि यसका पात्र हुनपुगेका छौं। आज यिनीहरूलाई असोज १८ गतेका दिन राजाले चालेका कदमलाई विविध कोणहरूबाट सान्दर्भिक र आवश्यक थियो भन्ने देखाउनु छ। मलाई पूरा विश्वास छ, यो कार्य पूरा नहुञ्जेलसम्म अख्तियार जस्तो संस्थाहरूको गलत प्रयोग रोकिने छैन। कि त राजाको अभियान असफल हुनु पर्‍यो।  तसर्थ अब राजाको इच्छाको औचित्य प्रमाणित नहुञ्जेलसम्म हामी थुनाबाट छुट्ने छैनौँ भन्ने मेरो विश्वास भएकै कारणबाट थुनाका दिनहरूलाई उपयोगी बनाउनुको विकल्प छैन।

जेपी गुप्ताले शनिबार राति  ‘खुमबहादुर खड्कासँग थुनामा रहँदा ०५९ कात्तिक १५, १६ र १७ का केही स्मरण’ नाममा राखेको लामो ‘स्ट्याटस’

प्रतिक्रिया दिनुहोस्