Logo

वामपन्थी सत्ता, कांग्रेसको वहिगर्मन र ‘जुत्ता पोलिस’



♦धर्मेन्द्र झा,

सत्ताबाट कांग्रेस आउट
नेपाली राजनीति नयाँ प्रयोगको संघारमा छ । ०४६ पछि प्रायः सँधै सत्ताको केन्द्रमा रहेको नेपाली कांग्रेस पूर्णतः सत्ताबाट बाहिरिन पुगेको छ र प्रतीपक्षका रुपमा पनि कांग्रेसको भूमिका कमजोर रहन सक्ने आँकलन गरिँदैछ । अर्कोतर्फ विगतमा प्रायः गठवन्धन राजनीतिका आधारमा मात्र सत्तासिन रहने अवसर पाएको वामपन्थीहरुको केन्द्रदेखि प्रदेशसम्म एकमना सरकार बन्ने अवस्था सिर्जना भएको छ । जनताले जुन दलप्रति विश्वास व्यक्त गरेका छन् त्यही दल र शक्तिले राज्य सञ्चालन गर्न पाउनुपर्दछ । यसो भनिरहँदा अबको सरकारले लोकतान्त्रिक मूल्य—मान्यताको तिरस्कार भने गर्नु हुँदैन । विपक्षलाई विश्वासमा लिएर अगाडी बढन सके देशले विकासको बाटो पहिल्याउन सहज हुनेछ ।

वामपन्थीलाई एक अवसर
अहिलेको एकमना अवस्था वामपन्थीका लागि यो एक ठूलो अवसर हो र शायद अन्तिम पनि । जहाँ उसले आफ्नो सक्षमता र अनिवार्यता प्रमाणित गर्न सक्नुपर्दछ । सुविधाजनक बहुमत प्राप्त भएको अहिलेको अवस्थामा पनि यो गठवन्धनले जनताको आकांक्षाको यथोचित सम्बोधन गर्न सकेन भने भविष्यमा पुनः यस्तै परिणाम प्राप्त नगर्न सक्छ । प्रसन्न्ताको कुरा हो, हाल नेपाल कम्युनिष्ट पार्टीका रुपमा एकिकृत हुन पुगेका दुई वामपन्थी दल अहिले हनिमुनको अवस्थामा छन् । निश्चय पनि यो अवस्था दुवैका लागि सुखानुभूतियुक्त नै होला । यो अनुभव धेरै लामो समय नटिक्ने एकथरि मत छ । तर हनिमुनको यो अवस्था कम्तिमा पाँच वर्षसम्म रहनुपर्छ । यसो हुन नसके यो दुई पार्टीका लागि त हानी निम्तिने छ नै देश र जनताका लागि पनि थप समस्या सिर्जना हुन सक्ने अवस्थाको निर्माण हुने पक्का छ ।
सिंहदरवारमा एकमना वाम
सिंहदरवारलगायत सातै प्रदेशमा प्रादेशिक सरकारहरु गठन भइसकेका छन् । प्रदेश दुईबाहेक सबै ठाउँमा एकतापछिको नेपाल कम्युनिष्ट पार्टी सत्तासिन हुन पुगेको छ तर त्यस्ता सरकार भागवण्डाको प्रभावबाट मुक्त रहन सकेका छैनन् । यसको प्रभाव वर्तमानसम्ममात्र सीमित रहने छैन । भावी दिनहरु नेपाल, नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीका लागि निकै महत्वपूर्ण ठहरिने पक्का छ । निश्चय पनि केन्द्र र प्रदेश सरकारका सामु चुनौतीका चांग छन् । यी चुनौतीहरु कसरी सम्बोधित हुने हुन्, आम नेपालीका लागि प्रतीक्षाको विषय बनेको छ । सबैभन्दा बढी चुनौती छ, प्रदेश सरकारसामु । केन्द्र र प्रदेशमा समान विचारधाराको (हाललाई प्रदेश २ लाई अपवाद मान्न सकिन्छ ) सरकार गठन हुनु दुवै तहका लागि अनुकूल अवस्था हो । समान विचार, धारणा, सोच र चिन्तनका कारण दुवै तहबीच विवादको सम्भावना कम रहेकाले विशेषतः प्रदेश संरचना सञ्चालनमा खासै समस्या नहुन सक्छ । तर एकिकृत पार्टीको वैचारिक समायोजन स्पष्टरुपमा हुन नसक्दा त्यसको तुस बाँकी रहन सक्ने पर्याप्त सम्भावना छ ।
संघीयता कमजोर हुन सक्छ
यस्तै एकैखाले विचार भएकै कारण प्रदेश सरंचनाले केन्द्रका सामु घुँडा टेक्ने वा समर्पण गर्ने सम्भावना पनि उत्तिकै छ । यसो भयो भने भोलीका दिनमा प्रदेश संरचना कमजोर हुन गई संघीयता नै समस्याग्रस्त बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । विगतमा संघीयताको पक्षमा खासै सकारात्मक नदेखिएको नेकपा एमाले (वहालवाला प्रधानमन्त्रीले नेतृत्व गरेको दल) सत्तासीन हुन पुगेको वर्तमान अवस्थामा संघीयता सुनिश्चित गर्ने रणनीत कसरी अख्तियार गरिन्छ, त्यो हेर्नु निश्चय पनि रुचीको विषय हुनेछ । यस्तोमा एउटा जिज्ञासा थपिन सक्छ, विगतमा संघीयताको हिमायतिजस्तो देखिएको माओवादी केन्द्र एमालेसँग एकाकार भइसकेपछिका दिनमा संघीयतासम्बन्धमा माओवादी विचारधाराबाट दीक्षितहरुको कस्तो धारणा सार्वजनिक हुन्छ ? यो यस्तो प्रश्न हो, जसको उत्तरका आधारमा भोलीका दूर दिनहरुमा अहिले एकिकृत भएका यी दुई पार्टीको भविष्य—यात्राको अवधि निश्चित गर्न सकिनेछ ।
कांग्रेसमा सुधार आवश्यक
पछिल्ला निर्वाचनहरुमा कांग्रेसको प्रदर्शन राम्रो देखिएन । कांग्रेस भद्रगोल हुँदा यसको प्रभाव निर्वाचन परिणाममा परेको विश्लेषकहरुमात्र होइन यस पार्र्टीका नेताहरुले पनि बताउँदै आएका छन् । निर्वाचनमा अनपेक्षित पराजयसँगै चुनावी समीक्षा गर्ने उद्देश्यअनुरुपा ढिलै भए पनि पार्टीको केन्द्रिय समितिको बैठक आव्हान गरिएको छ, र बैटक जारी छ । यस अवधीमा पार्टीभित्र र बाहिर विभिन्न स्तरमा पार्टीमा सुधार आवश्यक छ भन्दै आवाजहरु मुखरित भइरहेका छन् । पार्टीको आसन्न बैठकमा महासमितिको बैठक बोलाउनुपर्ने र शिघ्र महाधिवेशनको आयोजना गर्नुपर्नेसम्मका आवाज उठेका छन् । पार्टीको विचार, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारीरुपमा जनतासमक्ष पु¥याई त्यसप्रति जनसमर्थन जुटाई पार्टी संगठन सुदृढ गर्नमा कार्यकर्ताको आवश्यकता पर्दछ । यस आलोकमा विश्लेषण गर्ने हो भने पछिल्ला दिनमा नेपाली कांग्रेसप्रति यस्ता थुप्रै प्रश्न लक्षित छन् जसको उत्तर अपेक्षित छ । तर कार्यकर्तालाई यस पार्टीमा कहिल्यै पनि महत्व दिइएन ।

जुत्ता पोलिसका अभियान
केही दिन पहिले एक अपरान्ह राजधानीको नयाँ बानेश्वरमा अचानक एक दृश्य देखियो र निकै लामो समयसम्म निरन्तरता प्राप्त गर्दै पछिसम्म त्यो दृश्य स्थिर भइरह्यो । नेपाली कांग्रेसका युवा भनेर दावी गर्ने केन्द्रिय नेताहरु चन्द्र भण्डारी र धनराज गुरुगंलगायतका युवा समूहले सार्वजनिक स्थलमा कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको तस्वीर पृष्ठमा राखेर सार्वजनिक रुपमा जुत्ता पोलिस गरेका थिए । यो एक घटना नै थियो जसको पूर्वानुमान गरिएको थिएन । अनियोजित र अनपेक्षित तर महत्वपूर्ण तथा चर्चित व्यक्तिहरु सम्मिलित भएकाले होला त्यस घट्नामा सम्भवतः समाचार मूल्य निहीत रहने आधारमा यो विषयलाई मिडियाले पनि निकै कभरेज गर्यो । अहिले वहसको विषय बनेको छ, जुत्ता पोलिसको कार्य ठीक थियो कि थिएन ? यो कस्तो अभियान हो ? अभियानमा संलग्नहरुले यसलाई प्रतिकात्मकरुपमा प्रस्तुत् गर्ने प्रयास गरेका छन् । उनको भनाई छ, राजनीतिमा देखिएको विकृतिलाई अन्त्य गरिनुपर्ने आग्रह गर्दै प्रतिकात्मकरुपमा यो अभियान सञ्चालन गरिएको हो । अभियानमा संलग्नहरुका अनुसार, जुत्ता पोलिसबाट तीस हजार रुपैया नगद संकलन गरिएको थियो । यो रकम कहाँ कसरी खर्च गरिने भन्नेबारे आयोजकले स्पष्ट गरेका छैनन् । तर आशा गरौं जुन विकृति अन्त्यका लागि यो अभियान सञ्चालन गरिएको हो सम्भवतः यो रकम त्यसै अभियानको निरन्तरतामा खर्चिइने छ ।

अहिले किन जुत्ता पोलिस ?
सांकेतिकरुपमा विरोध प्रदर्शन गर्ने सन्दर्भमा जुत्ता पोलिसको अभियान स्वयंममा नयाँ होइन । २०३०
को दशकमा नेपालमा यो अभियान साहित्यको सन्दर्भमा सञ्चालन गरिएको थियो । त्यसवखतको अभियानको सारको विश्लेषण गर्ने हो भने त्यो अभियान राजनीतिको सन्दर्भमा सञ्चालन गरिएको थियो तर साहित्यलाई माध्यम बनाइएको थियो । त्यसवखत प्रतिवन्धित अवस्था थियो । राजनीतिक दललाई खुलेआम राजनीतिक गतिविधि सञ्चालन गर्न र जनताका बीच गएर संगठन गर्ने स्वतन्त्रता थिएन । यही कारण त्यसवेला यो अभियानलाई निकै सान्दर्भिक मानिएको थियो र अभियानलाई प्रजातन्त्र स्थापनाको संघर्षसँग जोडेर हेरिएको थियो । अहिले एकपटक फेरि यो अभियान चर्चामा छ । नेपाली राजनीति अहिले एकपटक पुनः जुत्ता अर्थात् बुट पोलिसको सन्दर्भले तातिएको छ । अहिले एकथरिले प्रश्न गरिरहेका छन्, आजको अवस्थामा यो अभियान किन हठात सञ्चालन गर्नु आवश्यक ठानियो ? तीसको दशकजस्तो अहिलेको राजनीतिक अवस्था छैन । अहिले राजनीति अलग धारमा निर्देशित छ । देशमा लोकतन्त्र छ । राजतन्त्र छैन, गणतन्त्र छ । एकात्मक शासन व्यवस्था छैन, संघीय शासन व्यवस्था छ । अर्कोथरिको मत छ, लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता सबैलाई छ । शीर्ष नेतादेखि सामान्य जनतालाई आफ्नो धारणा व्यक्त गर्ने अधिकार छ । भण्डारी र गुरुगंलगायतका नेताले पनि त्यही अधिकार प्रयोग गर्दै राजनीतिक विकृति अन्त्यको अभियानलाई श्वर प्रदान गर्ने प्रयत्न गरेका हुन् भने त्यसलाई अन्यथा किन मान्ने ? अभियानकर्ताहरुले अभियानमार्फत् जुत्ता सफा गरेजस्तै सांकेतिकरुपमा राजनीति पनि सफा गर्नुपर्ने आग्ह गरेका छन् । अभियानकर्ताहरु कांग्रेससँग आवद्ध भएको हुँदा यो अभियान कांग्रेसको शुद्धीकरणसँग पनि जोडिएको छ भन्दा अस्वाभाविक हुँदैन ।
अन्यथा किन मान्ने ?
यस अवस्थालाई विचार गरी भन्ने हो भने कांग्रेसको शीर्ष नेतृत्वमा रहेकाको ध्यानाकर्षण गर्न बुट पोलिस अभियान सञ्चालन गरिएको हो भने त्यसलाई अन्यथा मान्न मिल्दैन । तर सस्तो लोकप्रियतामात्र आर्जन गर्ने उद्देश्य अभियानको हो भने त्यसलाई नौटंकीको संज्ञा दिँदा कुनै फरक पर्दैन । अभियानका सञचालकहरुप्रति अरु प्रश्न पनि तेर्सिन्छन्, के यो अभियान सञ्चालन गर्नुभन्दा पहिले पार्टीमा यससम्बन्धमा कुरा राखिएको थियो ? राखिएको थियो भने त्यहाँ सम्बोधन हुन असम्भव थियो ? यो अभियानको आवश्यकता निर्वाचनमा पराजयपछिमात्र अनुभव गरियो कि त्यसअघि पनि सान्दर्भिक थियो ? जबसम्म यी प्रश्नका उत्तर सार्वजनिकरुपमा प्रवाहित हुँदैन तबसम्म यो अभियानको औचित्य पुष्टि गर्न सम्भव हुने छैन ।
र, अन्त्यमा
मथि विभिन्न उपशिर्षकमा विभिन्न सन्दर्भको चर्चा गरिएको छ तर सारमा ती सबै एकअर्कासँग समबन्धित छन् भनेर मान्न सकिन्छ । यी सबैको अन्तर्य कांग्रेसको सुधारसँग सम्बन्धित छ भनेर भनियो भने त्यो अन्यथा हुने छैन । कांग्रेस कमजोर हुनुको अर्थ हो देशमा वामपन्थीहरु वलियो हुनु, जसको संकेत देखिइसकेको छ, र वामपन्थी वलियो हुनु भनेको देशमा लोकतन्त्र प्रभावित हुन सक्ने सम्भावना बढनु । यस आधारमा कांग्रेसजनको यसतर्फ ध्यनाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्