मित्रमिलन सहकारी ठगी प्रकरण : पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ

मित्रमिलन सहकारी ठगी प्रकरण : पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ


काठमाडौँ ।

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन्।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो।

भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले सहकारीबाट १ करोड ५१ लाख रुपैयाँ बढी कारोबार गरेको, राष्ट्र बैंकले दिएको सिमा नाघेर एकै दिन अत्याधिक कारोबार गरेको, सहकारीलाई चर्को ब्याजमा ऋण दिने गरेकोलगायत आरोप छ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले दिएको बयानमा सहकारीको रकम अपचलन गर्न भण्डारीले सहयोगी भूमिका खेलेको आरोप लगाएका थिए।

मित्रमिलन सहकारीमा बचत जम्मा गरेका ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार रुपैयाँ अपचलन गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि हालसम्म भण्डारीसहित ८ जना पक्राउ परेका छन्। बाँकी फरार छन्।

मित्रमिलन सहकारीको स्याङ्जामा सेवा केन्द्र स्थापना गर्दा १ करोड ५ लाख रुपैयाँ घुस लिएको भन्दै तत्कालीन सहकारी रजिष्टार एवं कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर बहादुर पराजुली, सहकारीका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत पूर्पक्षका लागि थुनामा छन्।