६ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : मेयर रेणु दाहाल

६ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : मेयर रेणु दाहाल


चितवन ।

बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् ।

काठमाडौँबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । संवाद बाबु छोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उनले आफ्ना पिता दाहाललाई नै दिएकी थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् ।

निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग महानगर प्रमुख दाहालले भनिन्, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात् सम्झिएँ र निकै खुसी भएँ ।’निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उनले बताइन् । उनले भनिन्, ‘नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ ।’

हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको महानगर प्रमुख दाहालले सुनाइन् । उनले आफ्नो मोबाइलमा तस्बिर देखाउँदै भनिन्, ‘जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।’

विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौँको हवाई टिकट रु चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा रु तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ ।

प्रमुख दाहालले भनिन्, ‘बिहान काठमाडौँ गएर दिनभरि काम गरेर साँझ फर्किन सकिन्छ ।’ दुई साताअघि भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रमुख दाहाललाई बोलाएका थिइन् । संयोग त्यतिबेला दाहाल काठमाडौँ थिए । उनले विमानस्थल विस्तारका लागि सकारात्मक पहल गर्न प्रमुख दाहाललाई बोलाएकी थिइन् ।

प्रमुख दाहालले निरन्तररुपमा विमानस्थल विस्तारका लागि पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्ड यसलाई सार्थक बनाउन लागिपरेका थिए । रक्षा मन्त्रालय, नेपाली सेना, पर्यटन मन्त्रालय सबैलाई समेटेर यो काम गर्नुपर्ने अवस्था थियो । प्रमुख दाहालले भनिन्, ‘धेरै पटक म महानगरपालिकाको निर्णय बोकेर मन्त्री र प्रधानमन्त्री कार्यालयमा पुगेकी छु’, उनले अगाडि थपिन्, ‘पर्यटन र रक्षा मन्त्रालयमा धेरै पटक छलफल ग¥यौँ ।’ भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै गरेकाले अबको केही समयमै नयाँ टर्मिनल र ठूला जहाज अवतरण हुने विमानस्थल बन्ने उनी बताउछिन् ।

यसैले पनि यथाशक्य छिटो विमानस्थल विस्तार गर्नुपर्नेमा प्रमुख दाहालको जोड थियो । उनले भनिन्, ‘चितवनबासी मात्रै होइन, छिमेकी जिल्लाका बासिन्दालाई पनि विमानस्थल विस्तार हुँदै गर्दा प्रत्यक्ष फाइदा पुग्छ ।’ नवलपरासीको दाउन्ने पूर्वदेखि हेटौँडासम्मका बासिन्दाको पायक विमानस्थल यही नै हो । त्यसो त तनहुँ, गोरखा, लमजुङ, धादिङवासीका लागि पनि यो विमानस्थल उपयोगी छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकाले चितवन आउने पर्यटकका लागि विमानस्थल महत्त्वपूर्ण हुने प्रमुख दाहाल बताउछिन् । उनले भनिन्,’हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँदैछौँ, देश विदेशका खेलाडी र दर्शक यहाँ आउँछन् । त्यसका लागि पनि विमानस्थल विस्तार आवश्यक थियो ।’

भरतपुरको नेपाली सेनाको ब्यारेक विमानस्थलसँग जोडिएको छ । ब्यारेकमा ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये १९ बिगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने देखिएको छ । यससँगै यहाँको घोडा प्रजनन केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताइन् । यो विमानस्थल २०१५ सालमा स्थापना भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिगाहा रहेको छ जसमा एक हजार दुई सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ ।