Logo

सार्वभौसत्ता र भौगोलिक एकता रक्षाका लागि सेना तयार छ : प्रधानसेनापति



उदयपुर ।  देशको सार्वभौसत्ता र भौगोलिक एकता रक्षार्थ नेपाली सेना तयार रहेको प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन्। विश्वकै सफल सेनाको रूपमा स्थापित नेपाली सेना भौगोलिक अखण्डता र स्वाधीनताप्रति सदैव जिम्मेवार ढंगले प्रस्तुत हुने दाबी पनि क्षत्रीले गरे।  सैनिक कल्याणकारी बोर्डले उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा रहेको श्री नम्बर १८ वाहिनीमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रममा क्षत्रीले यस्तो बताएका हुन्।

प्रधानसेनापति क्षत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताका सवालमा सदैव जिम्मेवार रहेकाले यसविरुद्ध हुने कुनै पनि गतिविधि नेपाली सेनालाई सह्य नहुने जिकिर गरे। ‘राष्ट्रिय हितविरुद्ध हुने गतिविधि निस्तेज पार्न सेना संविधानको धारा टेकेर सरकारको आदेशअनुसार अघि बढ्न तत्पर छ’, क्षत्रीले भने, ‘राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली सेना तयार छ।’ विकासका गतिविधिमा स्वदेश तथा विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा नेपाली सेनाले पुर्‍याएको उच्च योगदानका आधारमा यसको पुष्टि भएको उनले बताए। क्षत्रीले भर्खरै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सेनाले खेलेको भूमिका उत्कृष्ट रहेको दाबी पनि गरे। उनले सेनाको गौरवशाली छविलाई उकास्न सबै पक्षको साथ जरुरी रहेको भन्दै भूतपूर्व सैनिकका गतिविधिसमेत प्रशंसनीय रहेको उल्लेख गरे।

नेपाली सेनाको अवकासपछिको जीवन सुखद रहोस् भन्ने हेतुले कल्याणकारी कोष स्थापना गरिएको उनले जानकारी दिए। ‘आश्रित परिवारको जीवनस्तर उकास्न विभिन्न लघुउद्यम, लघुवित्त माइक्रो फाइनान्स जस्ता कार्यक्रम संचालनमा ल्याइएको छ’, उनले भने, ‘आशा छ, यी कार्यक्रमले सेनाका परिवारको शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि मद्धत मिल्नेछ।’ कार्यक्रममा भूपू सैनिकअन्तर्गत उत्कृष्ट उद्यमी, अवकासप्राप्त जेष्ठ पूर्व सैनिक ९१ वर्षका रत्नबहादुर कटुवाल, पूर्व सैनिककी श्रीमती ९४ वर्षकी मैयादेवी कार्कीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।

त्यसैगरी फरक क्षमता भएका छ जना पूर्व सैनिक तथा गैरसैनिकलाई ह्विलचियर वितरण, १३ जना सैनिक तथा तिनका परिवारलाई एकदेखि तीन लाख रुपैयाँसम्मको लघुउद्यमका लागि न्यून व्याजदरमा ऋण सहयोग गरिएको थियो।  कार्यक्रममा उदयपुर, खोटाङ, सोलु र ओखलढुंगाका गण र गुल्महरूले संस्कृति जगेर्नाको सन्देश दिँदै झाँकी तथा कला प्रदर्शन गरेका थिए। पूर्व सैनिकको उक्त भेलामा तीन दिवसीय स्वास्थ्य शिविरसमेत संचालन गरिएको थियो।  नेपाली सेनाले सेनाको कल्याणकारी बोर्डको आयोजना तथा संयोजन र नेपाल इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो। कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत पदमविलास कार्कीले आगामी चार वर्षमा ४० हजार भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि विना धितो सात अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्