Logo

नेपालको विश्वकप छनोटमा दोस्रो हार : स्कटल्यान्डसँग ४ विकेटले पराजित



काठमाडौं । जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल,  स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको छ।  नेपालले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य स्कटल्यान्डले ४१ ओभर  ३ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

जितसँगै‌ स्कटल्यान्ड सुपर सिक्स पुगेको छ। नेपालको सम्भावना भने लगभग समाप्त भएको छ। नेपालको ध्यान अब एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता पाउनेमा केन्द्रित हुने छ।  प्रतियोगितामा सहभागी ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित शीर्ष ४ टोलीले चार वर्षका लागि अन्तर्राष्ट्रयको मान्यता पाउनेछन्।

समूह ‘बी’ अन्तर्गतको आफ्नाे पहिलो खेलमा नेपालले घरेलु टोलीसँग एक सय १६ रनको हार ब्यहोरेको थियो।  स्कटल्यान्डविरुद्ध नेपालले कमजोर ब्याटिङ गर्‍यो।  टस जितर पहिला ब्याटिङ गरेको नेपालले‌ ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १४९  रन जोड्यो।

नेपालको पालीमा कप्तान पारस खड्काले ६३ रन बनाए। बसन्त रेग्मीले अविजित २४  ,   सोमपाल कामीले १८ र   रोहित पौडेलले १५ रन बनाए।  उपकप्तान ज्ञानेन्द्र मल्ल एक, दीपेन्द्र  सिंह एेरी एक र दीलिप नाथ चार रनमा आउट भए।  शरद भेषावकरले खाता खोल्न सकेनन्। आरिफ शेख दुई रनमा पवेलियन फर्किए।

३९ रनमा पाँच विकेट गुमाएकाे नेपालका लागि पारसले सोमपाल कामीसँग मिलेर छैटौं विकेटका लागि ४२ रनको साझेदारी गरे।  सोमपाल छैटौं विकेटका रुपमा रन आउटको शिकार भए। नेपालले नवौं विकेटका लागि २६ रनको साझेदारी गरेको थियो।  स्कटल्यान्डको जितमा कप्तान कायर कोएट्जरले अविजित ८८ रन बनाए। नेपालका बलर सन्दीप लामिछाने र बसन्तले रेग्मीले दुई दुई विकेट लिए।

समूहमा यसअघि अफगानिस्तान र हङकङलाई हराएकाे स्कटल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ। जिम्बावेको दुई खेलबाट चार अंक छ। नेपालले आफ्नो तेस्रो खेलमा शनिबार अफगानिस्तानको सामना गर्ने छ। समूहको शीर्ष तीन टोली सुपर सिक्स पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्