Logo

साहित्यकार इन्द्रबहादुर राईको निधन



काठमाडौं । नेपाली साहित्यमा तेस्रो आयामेली आन्दोलनका मुख्य अभियानकर्ता इन्द्रबहादुर राईको निधन भएको छ । मंगलबार भारतको दार्जिलिङमा उनको निधन भएको हो । ९१ वर्षीय राईले भारतमा जन्मिएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएका छन् ।

विसं १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङ, बालासन खोलाको बगर, भारतमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राईले साहित्यक आन्दोलको लागि भने नेपाली भूमि नै रोजे । सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको एसेज इन क्रिटिसिज्मु को प्रभावले साहित्यमा नयाँ धारको सुरुवात गरेका राई नेपाली साहित्यमा लीला लेखनको लागि विशिष्ट साहित्यकार मानिन्छन् ।

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको कठपुतलीको मनु कथासङ्ग्रहलाई लिइन्छ। अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन्। जिवित हुँदा उनी भन्नेगर्थे लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन्। उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ। समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ। एउटा नाटक पनि लेख्न मन छ। धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ।

वैरागी काइँलाको, इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनाले २०२० सालमा नेपाली साहित्यमा एउटा आन्दोलन चलाए । यी तीन जना साहित्यकारहरुले परम्परागत साहित्यलाई चेप्टो साहित्य भन्दै तेस्रो आयाम अन्तर्गत् साहित्यमा लेखाइमा लम्बाई, चौडाई र मोटाई वा गहनता हुनुपर्नेमा जोड दिए । त्यतिबेला यो आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सफल भयो । यसैलाई आयमेली आन्दोलन पनि भनियो ।  त्यतिबेला उनीहरुले एउटा तेस्रो आयाम भन्ने पत्रिका पनि निकालेका थिए । त्यसको सम्पादक भने बैरागी काईँलालाई राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts