छैटौँ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

छैटौँ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


काठमाडौं ।

नेप्से परिसूचक लगातार छैटौँ कारोबार दिन घटेको छ। गत माघ ३ गतेदेखि नेप्से हरेक कारोबार दिनमा घटेको हो। यसरी घट्दा नेप्सेले ८७ अंक गुमाइसकेको छ।

बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८ मा बन्द भएको हो। बजार घट्दै गर्दा कारोबार रकम पनि घट्दै गइरहेको छ।

सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा सुधार नदेखिएको, राम्रा कम्पनीहरूको पनि लाभांश दर कम रहेको र कतिपयले लाभांश नदिएको लगायतका कारण बजार घट्दै गइरहेको छ।

बुधबार तीन अर्ब ८९ करोड रूपैयाँको सेयर कारोबार भएको हो। मंगलबार चार अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो। कारोबार रकम ९.३२ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएको तीन सय ११ मध्ये एक सय एक कम्पनीको मूल्य बढेको छ। एक सय ७९ वटाको मूल्य घटेको छ भने ३१ वटाको मूल्य स्थिर छ।

मंगलबारदेखि लकिङ अवधि सकिएको चन्द्रागिरी हिल्सको भने सोही दिनदेखि १० प्रतिशतको दरमा मूल्य बढिरहेको छ।

त्यस्तै बुधबार सेयर कारोबारमा आएको बैंकिङ र सामूहिक लगानी कोष समूहमा मात्रै सुधार देखिएको छ। अन्य सबै परिसूचक घटेका छन्। यसदिन पनि हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै (२५ करोड रूपैयाँ बराबरको) कारोबार भएको छ।