आज नेपालका ९ पालिकामा सार्वजनिक बिदा, जनकपुरधाममा उत्सव मनाइदैँ

आज नेपालका ९ पालिकामा सार्वजनिक बिदा, जनकपुरधाममा उत्सव मनाइदैँ


काठमाडौं ।

भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा रुपन्देही र कपिलबस्तुका केही पालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

छुट्टाछुटै सूचना जारी गरेर रुपन्देहीको १ तथा कपिलबस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका हुन्।

रुपन्देहीको रोहिणी गाउँपालिका सहित कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु, शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन्।

रोहिणी गाउँपलिकाका अध्यक्ष विद्याप्रसाद यादवले आजकै दिन गाउँपालिका भित्रका मठमन्दिरमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम गर्न लागिएको बताए।

साथै उनले आ(आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्वलन गर्न अपिल गरे। आजकै दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उनको भनाइ छ।

नेपाली चेली सीताको विवाह भगवान रामसँग भएको किम्वदन्ती छ ।

करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ ।

अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण रहेको छ ।

अयोध्यामा भगवान राम आफनो जन्म स्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्म भुमि र भगवान रामको सुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ । जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने समाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र सहायक महन्थ राम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उहाहरु अयोध्या पुगेका छन भने स्थानिय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउसो नगर क्षेत्रमा हिन्दु संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।

जनकपुरधाम उप महानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भईरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दुमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए ।

उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दा समेत यहाको सर्वसधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था छ । साझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आब्हानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ आफनो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए ।