बेरोजगार युवायुवतीलाई रोजगारी दिन ‘सवारी चालक तालिम’ सञ्चालन

बेरोजगार युवायुवतीलाई रोजगारी दिन ‘सवारी चालक तालिम’ सञ्चालन


दोलखा ।

भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ ।

वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।

तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए ।

यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको उनको भनाइ थियो ।

भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिए ।

‘तालिमका प्रमाणपत्र दिनका लागि मात्रै आयोजना गरिएको छैन’ उनले भने ।

नगरप्रमुख मानन्धरले तालिमको अनुुगमन गरी सीपमूलक ज्ञानको मूल्याङ्कन गरेर मात्रै उनीहरुलाई नगरपालिकाले प्रमाण पत्रवितरण गरेको बताए । नगरप्रमुख मानन्धरले लिममा सहभागीले चलाएको अटो ट्याम्पुमा यात्रा गरेर सीप परीक्षण गर्जुभएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।

तालिममा सहभागी स्थानिय पार्वती श्रेष्ठले भने ‘यो तालिम अत्यन्तै जीवन उपयोगी भएको छ । विदेश जाने योजनामा थिएँ, अब स्वदेशमा नै ड्राईभर भएर जीविकोपार्जन गर्ने हो ।’ उनी जस्तै तालिममा सहभागी अधिकांश उत्साहित छन् ।

वडाले चालक अनुमतिपत्र लिएर आएका तालिममा सहभागीलाई तीनपाङ्ग्रे सावारी किन्न ४० प्रतिशत अनुदान दिने योजना बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।