Logo

‘सरल जीवनशैली र पैसाकौडीको लोभ नगर्ने अनि गाउँमै गएर कार्यकर्तासँग बस्ने सुशीलको बानी’



तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बीपी कोइरालासहितका नेताहरूलाई जेल चलान गरेपछि उहाँको परिवार बनारस पुगेको थियो । बीपी कोइरालाकी धर्मपत्नीसँगै सुशील कोइराला पनि उतै हुनुहुँदो रहेछ । बीपी कोइराला जेल परेपछि एकैघरका भाइ नभए पनि भाइले जस्तै बीपीको परिवारको रेखदेखको काम सुशील कोइरालाले गर्नुभएको थियो । म अध्ययनको क्रममा कलकत्ता थिएँ । पढ्न गएका नेपालीहरूको संख्या त्यहाँ निकै बाक्लो थियो । देशभित्र राजनीतिक गतिविधि गर्न प्रतिबन्ध भएकाले पञ्चायती शासनको विरोधमा अध्ययनका लागि त्यहाँ पुगेका नेपाली विद्यार्थीहरूसँग भेटघाट गर्न र त्यसमार्फत नेपालमा पञ्चायतविरोधी गतिविधिलाई अगि बढाउन नेताहरू वेला–वेला त्यहाँ पुग्ने गर्नुहुन्थ्यो । त्यही क्रममा उहाँ (सुशील) सँग बनारसमा १÷२ पटक भेट भएको थियो ।

२०३६ सालमा अध्ययन सकी जनकपुर फर्केर डाक्टरी गर्न थालेको थिएँ । मैले डाक्टरी गर्दासम्म सुशील कोइराला नेपाल आइसक्नुभएको थिएन । उहाँ विमान–अपहरणका वेला फारबिसगन्जबाट पैसा लिएर गएको अभियोगमा विहार र तिहाड जेलमा समेत बस्नुभयो । २०३७मा आममाफीपछि मात्र उहाँसँग मेरो देशभित्र भेट भयो । त्यसवेला म कांग्रेसी ९डेमोक्र्याट० डाक्टर भनेर स्थापित भइसकेको थिएँ । धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सिन्धुली, रामेछाप, उदयपुर सहितका जिल्लाका नेता तथा कार्यकर्ता उपचारका लागि मकहाँ आउने गर्नुहुन्थ्यो त्यतिवेला ।
त्यसै क्रममा नेपाल विद्यार्थी संघको महाधिवेशन जनकपुरमा हुने भयो । अधिवेशनभन्दा एक महिना पहिला बीपीलाई भेट्न महोत्तरीको सुरसन्ड (जहाँ पुराना राजा–महाराजाको कोठी दरबार थियो) मा लीला कोइराला, आनन्द ढुंगाना, विमलेन्द्र निधि, शंकर मिश्र, वृषेशचन्द्र लाल लगायत गएका थियौँ । त्यसवेला पनि सुशील कोइरालासँग भेट भए जस्तो लाग्छ । त्यसपछि भएको संघको अधिवेशनले विमलजी (विमलेन्द्र निधि)लाई अध्यक्ष चुनेको थियो । अधिवेशनको क्रममा जनकपुर पुगेपछि बीपी दश दिन त्यहाँ बस्नुभएको थियो ।

बीपी कोइराला अस्वस्थ नै हुनुहुन्थ्यो । बीपीको उपचारमा म सहभागी भएपछि ०३९मा धेरै नजिक भएँ । बीपीसँग बस्दा नै देशभरिका नेता तथा कार्यकर्तासँग मेरो राम्रो चिनजान भएको थियो । स्थानीय पञ्चायतको निर्वाचनमा भाग लिएर आउट पोस्ट कब्जा गर्ने पार्टीको निर्णयअनुसार ०४३ मा म जिल्ला पञ्चायतको उम्मेदवार बनेँ र गिरिजाबाबुले बोलाएर काठमाडौँ आएँ । किसुनजी र गणेशमान सिंहले तपाईँ ‘लोकप्रिय डाक्टर हुनुहुन्छ, उम्मेदवार भए चुनाव जित्न सजिलो हुन्छ भनेपछि मैले चुनाव लडेँ । त्यसपछि २०४६को जनआन्दोलन, ०४८को आम निर्वाचनसँगै केन्द्रीय राजनीतिमा आइपुगेँ । २०५१ को मध्यावधि चुनाव हारेपछि केन्द्रीय समितिमा आएँ । त्यसपछि केन्द्रीय सदस्य, अनुशासन समितिको सदस्य, सह महामन्त्री र महामन्त्रीका रूपमा सुशील कोइरालासँगै काम गर्ने अवसरहरू प्राप्त भए ।

सुशील कोइरालाको एउटा महत्त्वपूर्ण विशेषता भनेको ‘नेता तथा कार्यकतासँग भेटघाट गर्न निकै रुचाउनु थियो । काठमाडौँ आएकासित मात्र नभएर जिल्ला–जिल्लामा गएर पनि पार्टी नेताहरूसँग भेटघाट गर्ने उहाँको बानी थियो । कार्यकर्तासँग साङ्गठनिक अवस्थाको विषयमा मात्र नभएर व्यक्तिगत कुरा पनि सुन्ने, जान्ने गर्नुहुन्थ्यो । उहाँले सबैका कुरा सुनेर नोट गर्नुहुन्थ्यो । सरल जीवनशैली, सदाचारिता, पैसाकौडीको लोभ नगर्ने र गाउँमै गएर कार्यकर्तासँग बस्ने र खाने बानीले उहाँले नेता–कार्यकर्ता, जनता सबैको माया र विश्वास पाउनुभएको थियो । उहाँको त्याग, निष्ठा र व्यवहारले सबैलाई आकर्षित गरेको थियो ।

उहाँमा जातीय, क्षेत्रीय विभेद थिएन । सबै जातजाति, समुदाय र भूभागका जनता र कार्यकर्तालाई समान रूपमा लिनुहुन्थ्यो । उहाँको कार्यक्षमतामा प्रश्न गर्न सकिएला, तर इमानदारी र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा औँला उठाउने ठाउँ छैन । आर्थिक अनुशासनमा प्रश्न गर्ने ठाउँ छैन । भुजिया, चिउरा खानुहुन्थ्यो र अरूलाई पनि सँगै खुवाउनुहुन्थ्यो । काठमाडौंमा हुँदा पार्टी कार्यालयमा काम सकेर बेलुका बुद्धनगर निवासमा पुग्थ्यौँ । उहाँले पत्रिका ओछ्याएर भुजिया र मुरई मिसाएर खाएको र खुवाएको अहिले पनि सम्झना छ । उहाँको जीवनशैली पूर्ण समाजवादी थियो, रहनसहन साह्रै शालीन थियो– सच्चा समाजवादी ।

पहिलो मधेस–आन्दोलनका वेला म कांग्रेसको महामन्त्री थिएँ । मधेस–आन्दोलनको वेला हामी त्यहाँ जानुपर्छ भन्दै तराईको अवस्थाबारे मैले उहाँलाई जानकारी गराएको थिएँ । त्यसवेला मधेसको कांग्रेससँग राम्रो सम्बन्ध भएकाले मैले जान आग्रह गरेपछि उहाँ त्यसका लागि तयार त हुनुभयो, तर उहाँलाई गाडीको चिन्ता रहेछ । उहाँले भन्नुभयो ‘हामी सबैजना मधेस जान गाडी कहाँ छ र ? उहाँले आफ्नो हातबाट कसैलाई फजुलमा पैसा दिएको र कसैसित लिएको मलाई थाहा छैन । पार्टीको कार्यक्रममा जानुप¥यो भने पनि उहाँले गाडी खोजेर कार्यकर्तालाई सँगै जाऔँ भनेर कतै लगेको पनि थाहा भएन । कतै जानुप¥यो भने हामीले गाडी, तेलको व्यवस्था मिलाएपछि बल्ल उहाँ आएर बस्ने मात्र हो ।

कुनै पनि निर्णय लिँदा सर्वप्रथम उहाँ सबै कुरा बुझ्नुहुन्थ्यो र बुझिसकेपछि निर्णय बदल्नुहुन्नथ्यो । उहाँ लोकतन्त्र, पार्टी र देशप्रति सधैँ इमानदार रहनुभयो र यी कुराका विरुद्ध कुनै प्रलोभनमा कहिल्यै पर्नुभएन । उहाँलाई कुरा बुझाउन भने निकै अप्ठेरो थियो र बुझिसकेपछि फेरि दायाँ–बायाँ कहिल्यै गर्नुभएन । कहिलेकाहीँ गिरिजाप्रसाद कोइरालालाई पनि सम्झाउन कठिन हुन्थ्यो उहाँलाई । पारिवारिक नाता भए पनि गिरिजाबाबुले सुशील, तिमीले यस्तो गर्दा राम्रो हुन्छ मात्रै भन्नुहुन्थ्यो । मान्नुभएन भने हामीलाई सम्झाउन भन्नुहुन्थ्यो, हामी सम्झाउँथ्यौँ ।
कांग्रेस–महामन्त्रीबाट म राष्ट्रपतिको जिम्मेवारीमा पुगेँ । म राष्ट्राध्यक्ष र उहाँ प्रधानमन्त्रीका रूपमा दुई वर्ष र सभापतिका रूपमा पाँच वर्ष काम गरेँ । त्यसवेलाका तिता–मिठा अनुभवहरू मसँग छन् । कांग्रेसका नेताहरू बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि पहाड र मधेसलाई फरक देख्नुभएन र उहाँमा पनि विभेद थिएन । तर संविधान जारी गर्ने वेलामा केही विषयमा नचाहेरै उहाँले सम्झौता गर्नुप¥यो । उहाँलाई पार्टीभित्र र अन्य पार्टीबाट पनि दबाब थियो कि ? मैले उहाँलाई केही समय लगाएर सबै कुरा मिलाएर संविधान जारी गर्न आग्रह गरेको थिएँ, तर उहाँ यसमा अडिन सक्नुभएन वा मैले उहाँलाई बुझाउन सकिनँ ।

म कांग्रेसी भएर नै राष्ट्राध्यक्ष भएको थिएँ, उहाँ प्रधानमन्त्री भएका वेला संविधानसभाबाट संविधान जारी भयो । तर मधेसका साथै देशको सबै समस्या समाधान हुन सकेन । राष्ट्राध्यक्षको हैसियतमा मैले प्रधानमन्त्रीलाई बुझाउन सकिनँ होला । तर संविधान जारी भइसकेपछि पनि मधेसी समुदायको असन्तुष्टिलाई बुझेर संविधान–संशोधनको प्रस्ताव संसद्मा लैजानुले उहाँ मधेसका सन्दर्भमा गम्भीर हुनुहुन्थ्यो भन्ने प्रमाणित गरिदियो । यस शोकको घडीमा जो पार्टी सभापति हुन्छ, ऊ मुलुक र पार्टीप्रति उदार भएर सबैलाई समेटेर अगि बढ्न सकोस् । सबै वर्ग, समुदायका मान्छेहरू अटून्, युवा पुस्तालाई आकर्षित गर्ने काम होस् । पार्टीभित्र बृहत् छलफल गरेर अगि बढ्न नसके कांग्रेसले नयाँ जीवन पाउँदैन । सैद्धान्तिक आधार बलियो भए पनि कांग्रेसजनको व्यवहार सत्तामा वा बाहिर रहँदा अनुदार देखिएको गुनासो छ । सात दशक लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टीको सभापति गुट–उपगुटभन्दा माथि उठ्न सकेन भने त्यसले राष्ट्रको हित गर्न सक्दैन । यस कुरालाई ध्यान दिँदै अगाडि बढ्ने सङ्कल्प गरेमा मात्र सुशील कोइरालाप्रति सम्मान व्यक्त गरेको ठहरिनेछ ।

माघ २४ गते साँझ फोन गरेर अतुल (अतुल कोइराला)ले ज्वरो आएको छ, सुतिरहनुभएको छ, सन्चो छैन भन्ने सुनाए । मैले ‘डाक्टर आएपछि मलाई कुरा गराउनू’ भनेँ । साढे नौ बजेतिर कुरा भयो, उहाँ गम्भीर हुनुहुन्छ भन्ने बुझेँ । बिहान फोन गर्न सकिनँ । साँझ फोन गरेँ, फोन लागेन, सुत्ने वेलामा फेरि फोन गरेँ लागेन । उहाँको स्वास्थ्यमा सुधार भइरहेको होला, अतुल थाकेको होला भन्ने लाग्यो । राती पौने एक बजेको थियो होला, अतुलको फोन आयो, यतिवेला किन फोन आयो भनेर म झस्केँ । डाक्टर भएकाले फोन आउँदामै मनमा चिसो परेको थियो, तर पनि आउने खबर अशुभ नहोस् भन्ने कामना गर्दै उठाएँ । सत्य सत्य नै हुँदो रहेछ, जे नहोस् भन्ने थियो त्यही भयो, खबर अशुभ नै ठहरियो । लामो सहयात्रा र सान्निध्यमा त्यस फोनसँगै पूर्णविराम लाग्यो ।
प्रथम राष्ट्रपति डा रामवरण यादवसँग बालकृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।

सुशील दा सम्झनामा पुस्तकवाट

प्रतिक्रिया दिनुहोस्