नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका ६ पालिका छनोट

नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका ६ पालिका छनोट


तम्घास ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योगलगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन् ।

यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुनेछ । जसमा गाउँपालिकाका लागि रु ७५ लाख र नगरपालिकाका लागि एक करोड सङ्घीय सरकारले उपलब्ध गराउनेछ ।

यसमा गाउँपालिकाले रु १५ लाख थप गरी रु ९० लाख र नगरपालिकाले रु २५ लाख थप गरी रु एक करोड २५ लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत गुल्मीका छसहित देशभरका एक सय चार पालिका छनोट भएका छन् ।