Logo

आठ महिनापछि भारतीय रेलमार्गमा जोडिँदै नेपाल



काठमाडौं । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ ।

रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड जयनगरदेखि कुर्थासम्म रेल्वे लाइन निर्माणको काम जारी रहेको बताए । ‘भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ, त्यो भनेको रेल कुद्ने अवस्था हो,’ उनले भने ।

तीन खण्डमा रेल्वे लाइन निर्माण हुँदै
ओझाका अनुसार जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग तीन खण्डमा बन्दै छ । जयनगरदेखि कुर्थासम्मको पहिलोे खण्डअन्तर्गत ३४ किलोमिटर आगामी कात्तिकमा निर्माण सम्पन्न हुनेछ । सन् २०१९ मा कुर्थादेखि भंगाहा बिजलपुरासम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुनेछ । बिजलपुराबाट बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप तीन वर्ष लाग्ने अनुमान छ । इन्जिनियर ओझाका अनुसार अहिले जयनगरदेखि भँगाहासम्म ५२ किलोमिटर रेल्वे मार्गमा काम चलिरहेको छ । भँगाहादेखि बर्दिबास खण्डमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । जयनगरवारि इनरवादेखि भँगाहाम्म ९० प्रतिशतले मुआब्जा पाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले करिब ३१ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरेको छ । ‘आगामी अक्टोबर कात्तिकसम्म जयनगरदेखि कुर्थासम्म रेल गुड्न सक्ने अवस्थामा रेल्वे लाइन बिछ्याउने काम सम्पन्न हुन्छ । भारतले सिभिल कन्स्ट्रक्सनको काम सकेर नेपाललाई रेल्वे लाइन हस्तान्तरण गर्नेछ,’ इन्जिनियर ओझाले भने ।

तीन वर्षअघि जनकपुरबाट जयनगर रेल सेवा बन्द
तीन वर्षअघि जनकपुरबाट जयनगरसम्म जाने न्यारोगेज रेल बन्द भएको थियो । १९९४ देखि जनकपुर–जयनगर रेल चल्दै आएको थियो । विगतमा जयनगरबाट बिजलपुरासम्म रेल चल्थ्यो । राणाकालमा सरकारले ब्रिटिस भारत सरकारलाई काठ पैठारी गर्न रेल बनाइएको थियो । पछि रेलमा यात्रु ओहोरदोहार गर्ने गरेका थिए । पहिलो खण्डअन्तर्गत रेल लिकमा माटो पुरिने, ग्राभेल ओछ्याउने तथा पुलपुलेसा कार्य सम्पन्न हुने अवस्थामा पुगेको इन्जिनियर ओझाले जानकारी दिए । रेल्वे स्टेसन, हल्टहरूमा भवन निर्माण कार्य तथा कर्मचारीहरूको अवासका लागि क्वार्टर निर्माण अन्तिम चरणका पुगेको छ । रेल ओछ्याउन पटरी जम्मा गर्ने कार्यसमेत भइरहेको छ । भारततर्फको जयनगर र नेपालतर्फको इनर्वासम्म तत्काल पटरी र विशेष प्रकारको बलास्टर गिटी जम्मा गर्ने कार्य सम्पन्न भएको छ ।

पूर्वराष्ट्रपति यादवको भारत भ्रमणमा रेल निर्माणको सहमति
सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । यसबाहेक नेपाल र भारतबीच थप चारवटा सीमापार रेल्वे निर्माणको सम्झौता भएको थियो । अहिले जयनगर–जनकपुर–बर्दिबास तथा जोगबनी–विराटनगर रेलमार्ग निर्माण भइरहेको छ । भारत सरकारले ब्रोडग्रेज निर्माणका लागि सात अर्ब भारु अनुदान दिने सहमति गरेको छ । भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । लगानी र अनुगमन भारतले नै गरिरहेको छ भने अधिकांश स्थानमा भारतीय ठेकेदारले नै काम गरिरहेका छन् ।

६९ किलो रेलमार्गमा आठ स्टेसन र ६ वटा हल्ट
जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा आठ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन रहेको छ । त्यस्तै, मैनाथपुर, देउरी परवहा, जनकपुर, महोत्तरीको लोहरपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेको छ । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहनेछ । जयनगरमा ४ लाइन, इनर्वामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहनेछ ।

सिमरासम्म रेल पुर्‍याउन औपचारिक काम सुरु
जयनगरेदखि बिजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलामार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । जग्गा अधिग्रहणका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि बजेट अभावमा निर्माण कार्यले गति पाउन सकेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

रेल इन्जिनको अत्तोपत्तो छैन
आगामी फागुनदेखि जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने दाबी गरिए पनि रेलमार्गमा गुड्ने इन्जिनको अहिलेसम्म अत्तोपत्तो छैन । रेलको एउटा इन्जिनको खरिद गर्न कम्तीमा ५० करोड पर्ने अनुमान गरिएको छ । इन्जिनसँग जोडिने डब्बाहरूको गरी एउटा रेल सञ्चालनमा कम्तीमा एक अर्ब रुपैयाँ लाग्ने रेल विभागले जनाएको छ । रेलको इन्जिन भारत सरकारसँग माग गर्ने, नदिएमा नेपाल आफैँले खरिद गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

फेरिँदै रेल्वेको स्वरूप
भारतीय ब्रिटिस शासकले १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि रेल नेपाल सरकारको जिम्मेवारीमा दिइएको थियो । ०५९ मा महोत्तरीको विग्ही नदीमा आएको बाढीले पुल भत्किएपछि जनकपुर–जयनगर २९ किलोमिटरमा मात्र रेल सेवा सीमित हुन पुग्यो । विगतमा न्यारोगेज रेलले जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लगाउँथ्यो । ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा पुग्न सकिनेछ । इन्जिनियर ओझाका अनुसार न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एकपटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो । ब्रोडगेज सेवा सुरु भएपछि आवश्यकताअनुसार डब्बा थप गरेर यात्रा गराउन सकिनेछ । ‘न्यारोगेज सेवामा पाँचदेखि सातवटा मात्र सानो साइजको डब्बा जोडिएको थियो । तर, नयाँ ब्रोडगेजमा कम्तीमा १० देखि १५ वटा डब्बा जोड्न सकिनेछ,’ ओझाले भने ।

सिमरासम्म रेल पुर्‍याउन काम सुरु
जयनगरेदखि बिजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलामार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । जग्गा अधिग्रहणका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि बजेटको अभावमा निर्माण कायले गति पाउन सकेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्