स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य


महोत्तरी ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा महोत्तरीका ३ वटा पालिकाहरूले शून्य अंक प्राप्त गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार गरेको मूल्यांकनमा सबैभन्दा बढी अंक भने महोत्तरी गाउँपालिकाले पाएको छ ।

शून्य अंक पाउनेहरूमा सम्सी, बल्वा, सोनामा र रामगोपालपुर रहेका छन् भने नम्बर पाएको आधारमा पनि सबैभन्दा कम नम्बर पाउनेमा बर्दिवास र लोहारपाटी नगरपालिका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रतिवेदनअनुसार लोहारपाटीले ५२.५ प्रतिशत अंक प्राप्त गरेको छ भने बर्दिवास नगरपालिकाले ५४.५ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्वमूल्यांकनमा महोत्तरीपछि गौशाला नगरपालिका जिल्ला कै दोस्रो नगरपालिका बनेको छ । महोत्तरी गाउँपालिकाले ९ वटा शीर्षकमा गरेको मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गर्दा गौशालाले ८५ प्रतिशत अंक प्राप्त गरेको हो ।

त्यसपछि औरही, पिपरा र जलेश्वर नगरपालिका छन् । उनीहरूले क्रमशः ७७.२५ प्रतिशत, ७५.५ प्रतिशत र ७०.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

मूल्यांकनलाई ९ भागमा विभाजन गरिएको छ जसमध्ये शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय छन् ।

वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा पनि बर्दिवास नगरपालिका निकै कमजोर देखिएको छ । यसमा २७.८८ प्रतिशत अंक मात्र प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी मटिहानी नगरपालिकाले औसत ६१.२५ प्रतिशत, मनरासिस्वाले ६० प्रतिशत, एकादाराले ५९.५ प्रतिशत र भंगाहा नगरपालिकाले ५८.७५ प्रतिशत अंक प्राप्त गरेका छन् ।