यी ४ कम्पनीको वार्षिक साधरणसभा आज, कुनको लाभांश कति ?

यी ४ कम्पनीको वार्षिक साधरणसभा आज, कुनको लाभांश कति ?


काठमाडौं ।

आज पुस २४ गते मंगलबारका दिन ५ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । आजकै दिन दिन तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरले साधारण सभा बोलाएका हुन् ।

यसमध्येमा तारागाउँ रिजेन्सी र भगवती हाइड्रोपावरले मात्रै लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् भने बाकी अरु ३ कम्पनीको लगानीकर्ताको हात भने रित्तो हुने देखिएको छ । तारागाउँ रिजेन्सी होटल्सको सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ ।

त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गरिसकेको छ । युनिक नेपाल लघुवित्तको सभा कोहलपुर, न.पा- ४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ।

त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ । कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ।

पञ्चकन्या माई हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्ति गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।