Logo

पूर्वफुटबलर वेह लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित



लाइबेरिया । अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वेह निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भएका हुन् । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा बहुमत मतदाताले पूर्व फुटबलर वेहलाई साथ दिएका हुन् ।

वेह स्थिर र प्रजातान्त्रिक राजनीतिक संस्कार विकास गर्ने नारासहित चुनावमा होमिएका थिए । लाईबेरियामा शक्ति हस्तान्तरण निकै कठिन हुने गरे पनि यसपटक भने सहज हुने अनुमान गरिएको छ । तर वेहको निर्वाचन अभियान पनि विवादरहित भने थिएन । वेहको तर्फबाट उपराष्ट्रपतिमा लडेकी जेवेल टेलर लाईबेरियाको राजनीतिमा विवादित पात्र हुन् ।

उनका पूर्वश्रीमान् एवं पूर्वराष्ट्रपति चाल्र्स टेलर युद्ध अपराधको कसुरमा हाल ५० वर्षको जेल सजाय काटिरहेका छन् ।सन् २००२ सम्म सक्रिय फुटबल खेलाडी रहेका वेहले युरोपका चर्चित फुटबल क्लवहरु चेल्सी, एसी मिलान, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । आफ्नो जमानाका निकै सफल खेलाडी वेह फिफा वल्र्ड प्लेयर अफ द ईयर र बलुन डे ओर दुबै उपाधि जित्ने एकमात्र अफ्रिकन खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्