बैंकिङ कसुरमा ८० लाख जरिमाना तोकिएका विश्वकर्मा पक्राउ

बैंकिङ कसुरमा ८० लाख जरिमाना तोकिएका विश्वकर्मा पक्राउ


काठमाडौं ।

बैंकिङ कसुरमा ८० लाख जरिवाना र २३ दिन कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३ चक्रपथ बस्ने ६१ वर्षीय भीमबहादुर विश्वकर्मा रहेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पोखराबाट पक्राउ गरेको हो। उनी चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरीका सञ्चालक हुन्।

बैंकिङ कसुरमा २३ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

यस्तै, बैंकिङ कसुरमै १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना तोकिएका पर्वत कुश्मा नगरपालिका-१० घर भएका सरोज खाती पक्राउ परेका छन्। उनलाई न्युरोड कास्कीबाट बुधबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।