Logo

मौन अवधिमा भोट माग्दै लालबाबु, निर्वाचन आयोगमा उजुरी दर्ता



विराटनगर । दोश्रो चरणमा विहीबार मतदान हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि मंगलवार बिहानै बाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित दुई दर्जन कार्यकर्ता बोकेर भोट माग्न निस्किएपछि निर्वाचन आयोगमा उजुरी परेको छ । बामगठबन्धनका उम्मेदवार एमाले नेता पण्डित आज विहान विराटनगर महानगरपालिका वडा नम्बर ९ मा दुई दर्जन कार्यकर्तासहित भोट माग्दै हिँडेका थिए ।

पण्डितले मौन अवधिमा भोट मागेको भन्दै कांग्रेस जिल्ला सचिव नागेश कोइरालाले उजुरी गरेका हुन् । सचिव कोइरालाले भने– ‘मौन अवधिमा बिहानै निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वार पण्डितलाई भोट माग्दै गरेको भेट्यौं र तत्कालै निर्वाचन कार्यालयमा उजुरी गरेका छौ ।’

क्षेत्रीय निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङ क्षेत्र नम्बर ६ का बामगठबन्धनका उम्मेदवार लालबाबु पण्डितले मौनअवधिमा आचारसंहिता पालना नभएको भनी कडा प्रस्तुतिकरणका साथ उजुरी आएको बताए । दोश्रो चरणको निर्वाचनका लागि सोमवार मध्यरातबाट मौन अवधि सुरु भएको हो । मौन अवधिमा भोट माग्न पाइदैन भोट मागेमा प्रसार प्रसार गरेमा आचारसंहित उल्लधन गरेको भन्दै उम्मेदवारी समेत रद्द हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्