Logo

फैसला काठमाडौका मतदाताको

पुष १ कालो दिवस कि, चैत्र २६ ?



 

सुधारको प्रारम्भ अन्ना हजारे बनेर पनि गर्न सकिन्छ । केजरीवाल हुनका लागि पनि लामो समयसम्म सामाजिक आन्दोलन गर्नुपर्दछ ।……. मतदातामात्र हैन, हाम्रा प्रतिनिधिपात्रका रुपमा रहेका दर्शनाहरुले पनि यो कुरालाई मनन् गर्न जरुरी छ ।

  • राजीव चौधरी

स्थानीय चुनाव लगत्तै रञ्जु दर्शनालाई पत्र लेख्न मन थियो । तर, बिभिन्न कारणले तत्कालै लेख्न सकेन । पछि, उनी सम्बद्ध पार्टी विवेकशील नेपाली र साझा पार्टी एक भैसकेपछि रञ्जुलाई मैले आफ्नो प्रतिनिधित्व गर्ने पात्रकारुपमा पत्र लेख्न आबश्यक देखेन ।
रञ्जुलाई पत्र लेख्नु पर्ने कारण थियो । त्यो भनेको, उनले स्थानीय निर्वाचनको प्रचारका क्रममा व्यक्त गरेका केही अभिव्यक्ति र उनको शैलीमा मैले सुधार खोजेको थियो ।

उनी जत्तिको हाम्रो प्रतिनिधिपात्रले चुनाव प्रचार संयमित रुपमा, शिष्टरुपमा र सम्बन्धहरुमा खलल हैन, प्रगाढपना थप्ने रुपमा गर्नेछिन् र चुनावलाई झगडाका रुपमा बुझ्ने पुरातन संस्कृतिलाई बदल्न प्रेरित गर्नेछिन् भन्ने लागेको थियो । तर उनले जव ‘स्यालबहादुर देउवा, फुस्साकमल दाहाल’ जस्ता शब्दको प्रयोग गरेर नेतृत्वका प्रति अपमानित शब्दको प्रयोग गर्दै भाषणदिने क्रममै उनीहरुलाई मुक्का हानौ भनेर एउटा करातेको गुरुले खेलाडिलाई प्रशिक्षण दिएको जसरी सहभागिलाई अभ्यास गर्न लगाइन्, तब उनीवाट हामीले अपेक्षा गरे बमोजिमको सुसंस्कृत राजनीति संभव हुँदैन भन्ने निश्कर्षमा पुगे । तैपनि मेरो निश्कर्ष अन्तिम नहुन सक्छ भनेर चुप बसे, चुनावपछि उनलाई पत्र लेख्छु भनेर स्थानीय चुनाव अघि मौनता साधे ।

यतिबेला उनी रबिन्द्र मिश्रको पार्टीमा समाबेश भएपछि ‘जनु रुखको बोक्रा त्यसैमा टाँसिन्छ’ भन्ने उक्ति चरितार्थ भएको महसुस भयो अनी त्यही संस्कृतिको गठजोड हुँदा त्यहाँबाट नेपाली समाजलाई पाच्य हुने सुसंस्कृती सम्भव हुने देखिन । ‘करोडौ चन्दा दिनेले हिसाव मागेका छैनन्, दुई चार हजार चन्दा दिनेले हिसाव खोज्छन् । वाहियात् ।’ रविन्द मिश्रको चुनाव प्रचारका क्रममा आएको यो अभिव्यक्तिले एकै पटक धेरै कुराहरु प्रदर्शित गरेको छ ।

पहिलो कुरा, उनी जनतासंगको अन्तरक्रिया रुचाउदैनन् । उनको लच्छेदार भाषणमा सबै सहमत हुनै पर्दछ । प्रश्न स्वीकार्य छैन ।

दोस्रो, उनको राजनीति जनताप्रति उत्तरदायी छैन । उनी तुष्टिकरणको अभियानमा छन् ।

तेस्रो, जनताले उनीसंग पारदर्शीता खोज्न पाउदैनन् र उनलाई दिएको चन्दा वा सहयोग उनको निजि सम्पत्ति हुन्छ, जस्को हिसाव खोज्नेहरु ‘वाहियात्’ हुन् ।

चौथो, अर्काको तेजोबध गर्दै शहरीया निराशाहरुलाई आफ्नो पक्षमा पार्ने नानीमैया दाहालको शैलीको राजनीति गर्ने ।
यी बिषेशता सहितको नेतृत्व अहिलेको राजनीतिले अपेक्षा गरेको हो कि हैन ? सबै गंभिर हुन आबश्यक छ । युवामनहरु, जो साच्चिकै रानीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट छन्, उनीहरुलाई लक्षित गरी उनले राजनीति गर्न थालका छन् । तर, ती युवामनहरुलाई शालिन, भद्र र नविन राजनीतिक संस्कृति स्थापित गरी भद्र राजनीतिक दिशा दिने तर्फ उन्मुख गराउने कि, अरुलाई गालिगर्ने हुल्लड समूहमा रुपान्तरण गर्ने ?

त्यसो त रविन्द्र मिश्र जुन परिबेशबाट यहाँ आएका हुन्, त्यसलाई हेर्दा उनीसंग सकारात्मकताको अपेक्षा गर्न सकिदैन । उनको पत्रकारिता पनि नकारात्मकतामै थियो । उनको अन्तरवार्ता शैली र उनले गर्ने प्रश्न हेर्दा उनी पत्रकार हुन् कि कुनै प्रहरी चौकीको मुद्दा फाटका हवलदार हुन्, जस्ले अभियुक्तलाई केरकार गरिरहेको छ, छुट्याउनै गाह्रो हुन्थ्यो ।

उनको नेपाली कांग्रेस र कोइराला परिवारप्रतिको ‘वायसनेस्’ त हरेक सन्दर्भमा झल्कन्थ्यो । उनमा अजिवको कुण्ठा रहेको छ । आजकल उनको कुरासुन्नेहरुले पक्कै यो महसुस गरिरहेका होलान् । एउटा प्राध्यापकले उनी प्रति उठाएको सवालको जवाफ उनले सत्यमा आधारित भएर हैन, ‘ति प्राध्यापकले पढाउने बिद्यार्थी कस्ता होलन् ? टिठ लाग्छ’ भन्दै शुरु गर्छन् । त्यो ‘टिठ’ उनको सदासयताका साथ हैन, कुण्ठाका रुपमा आएको हो भन्ने जो कोहीले पनि बुझ्न सक्छ । गिरिजाप्रसाद कोइरालाको निधन भएर उनको पार्थीव शरिरको अन्त्यष्टि नगर्दैको साझ उनले बिबिसीमा ‘गिरिजा प्रसाद कोइराला नेपाली राजनीतिका नायक कि खलनायक’ भन्ने बहस चलाई कोइरालालाई खलनायक सावित गर्न भरमग्दूर प्रयास गरे । नेपाली संस्कृति र हिन्दू धर्मले मरेको मान्छेको राम्रा कुराको चर्चा गरी पीडितलाई सान्त्वना दिलाउन भन्छ । तर, त्यो संस्कृतिको समेत ख्याल नगरी कोइरालालाई खलनायक सावित गरेर के प्रमाणित गर्न खोजेका हन् ? बुझि नसक्नु छ ।

प्रकाशमानको परिवार ०१७ साल पुष १(पञ्चायती व्यबस्था शुरुभएकोदिन) लाई कालो दिवस मान्ने र ०४६ चैत्र २६(प्रजातन्त्र पुनस्थापन भएको दिन) लाई उज्यालो तर्फ प्रबेशको दिन ठान्ने स्कूलिङको परिवार हो । त, रविन्द मिश्रको परिवार ठिक उल्टो अर्थात ०१७ पुष १ गते, उज्यालो दिन र ०४६ चैत्र २६ लाई कालो दिन भन्ने स्कूलिङको परिवार हो ।

यी सन्दर्भहरु यहाँ किन उठाइएको भने, कुण्ठा पालेको र नकारात्मक संस्कृतिले फुलिएको नेतृत्ववाट राजनीतिमा सुधार संभव छैन, बरु झनै बिष छर्किएको बराबर हुन्छ । आज हाम्रो पुस्ताले अपेक्षा गरेको र थोरै शैलीमा परिवर्तन खोजेको दर्शनाहरु नै त्यही नेतृत्वमा समाहित गरेपछि राजनीतिलाई सुसंस्कृत बनाउने र त्यसको अगुवाई तरुण पुस्ताले गर्ने एउटा संभावना नराम्रोसंग मासिएको छ ।

चुनावमा रविन्द्र मिश्रले के गर्छन ? थाहा छैन । सुनिन्छ, प्रकाशमान सिंहलाई हराउनुलाई नै उनले आफ्नो जित ठान्ने मानसिकतामा छन् । यो कुरालाई म असत्य पनि मान्दैन । किनभने राजनीतिक स्कूलिङको आधारमा हेर्ने हो भने उनी र प्रकाशमान परस्पर अलग अलग धु्रवका पात्र हुन् । प्रकाशमानको परिवार ०१७ साल पुष १(पञ्चायती व्यबस्था शुरुभएकोदिन) लाई कालो दिवस मान्ने र ०४६ चैत्र २६(प्रजातन्त्र पुनस्थापन भएको दिन) लाई उज्यालो तर्फ प्रबेशको दिन ठान्ने स्कूलिङको परिवार हो । त, रविन्द मिश्रको परिवार ठिक उल्टो अर्थात ०१७ पुष १ गते, उज्यालो दिन र ०४६ चैत्र २६ लाई कालो दिन भन्ने स्कूलिङको परिवार हो ।

राजनीति त राजनीति नै हो । लोकतान्त्रिक परिवेशमा मात्रै नेतृत्वको कौशलताको जाँच हुन सक्छ । लोकतान्त्रिक पद्दतिको शुरुवातलाई कालो दिने ठान्ने स्कुलिङबाट हुर्किएको र त्यही कारण हरेक राजनीतिक निर्णय र नेतृत्वलाई असफल सिद्ध गर्न हरपल क्रियाशिल रहेको र लोकतान्त्रिक पद्दति र नेतृत्वप्रति कुण्ठा पालेर बसेको व्यक्तिबाट लोकतान्त्रिक मर्ममाथी नै प्रहार हुने हो । लोकतान्त्रिक मर्म माथी प्रहार गर्ने नेतृत्वबाट सुसंस्कृत राजनीतिक नेतृत्व असंभव नै छ । दर्शनाहरुको बाटो त्यता तर्फ नजाओस् भन्ने मेरो चाहना यतिबेला मुर्छित भएको छ । काठमाण्डौ १ का मतदाताले पुष १ उज्यालो हैन कालो दिन हो र चैत्र २६ कालो दिन हैन, उज्यालोको प्रबेश थियो भन्ने कुरा आफ्नो मत मार्फत प्रमाणित गरिदिएमा कुण्ठापालेर नकारात्मक चिन्तनको भ¥याङबाट लोकतान्त्रिक पद्दतिमाथी आक्रमण गर्ने प्रबृत्ति निरुत्साहित हुने छ ।

सुधारको प्रारम्भ अन्ना हजारे बनेर पनि गर्न सकिन्छ । केजरीवाल हुनका लागि पनि लामो समयसम्म सामाजिक आन्दोलन गर्नुपर्दछ । लाखौंको जागिर छुटेको पर्सिपल्ट ‘नेताले केही गरेनन्, अब म गर्छु’ भन्दै चुनावमा होमिनु भनेको धैर्यताको अभाव पनि हो । धैर्यता नै भएन र नागरिकको मन जित्ने कुनै राजनीतिक, सामाजिक, सांस्कृतिक परिर्वनमा अगुवाई पनि भएन भने त्यो महत्वकांक्षा पानीको फोका सरी मात्र हुन्छ । नेपाली राजनीतिले आतुरताका साथ परिवर्तन र व्यबस्थापन खोजिरहेको बेला पानीको फोकालाई इन्द्रेणी ठानेर अलमल भयौ भने फेरि पनि हामी निकै पछि पर्ने छौ । मतदातामात्र हैन, हाम्रा प्रतिनिधिपात्रका रुपमा रहेका दर्शनाहरुले पनि यो कुरालाई मनन् गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्