Logo

रुकुमका दुई स्थानमा मतदान शुरु, कांग्रेस पनि सहभागी



आईतबार मतदानका क्रममा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्दा मतपेटिकामा आगलागी भएपछि उक्त मदतान केन्द्रको मतदान स्थगित गरिएको थियो ।

रुकुम / पश्चिम रुकुम जिल्लामा आइतवार स्थगित भएका दुइवटा मतदान केन्द्रमा शुक्रवार पुनः मतदान सुरु भएको छ । मतदानमा नेपाली कांग्रेस सहभागि भएको छ । कांग्रेसले आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै चुनाव बहिस्कार गर्ने चेतावनी दिदै आएको थियो ।
आईतबार मतदान स्थगित भएका रुकुम(पश्चिम) बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।
आईतबार मतदानका क्रममा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्दा मतपेटिकामा आगलागी भएपछि उक्त मदतान केन्द्रको मतदान स्थगित गरिएको थियो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तसैनाको मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेका छन् भने रत्न आधारभुत मतदान केन्द्र काँडामा छ सय ७२ मतदाता रहेको छन् । यहाँ कडा सुरक्षाका बीच मतदान सुरु भएको हो । विहान सात बजे भन्दा केहि ढिला गरि भएको मतदान साँझ पाँच बजे सम्म हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
आइतवार आफ्नो प्रतिनिधि केशव खड्कालाई प्रहरीले प्रक्राउ गरेपछि दाबब स्वरुप चुनाव बहिस्कार भन्दै आएको र विहिवार साँझ बोलाइएको सर्वदलीय वैठक बहिस्कार गरेको कांग्रेस नगर कमिटिले आज भने आफ्ना मतदातालाई चुनावमा सहभागि हुन लगाएको हो । जिल्ला स्तरवाट पार्टीले खड्काको विषयमा पहल गर्ने जिल्ला पार्टी सभापती प्रेम प्रकाश ओलीले प्रतिबद्धता जनाएपछि नगरकमिटि चुनावमा सहभागि हुने भएको हो ।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा दुई सय ४६ मत र आठबिसकोटको मतपेटिकामा तीन सय तीन मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्