४४ लाख चन्दा उठाएर मन्दिरको पुनः निर्माण

४४ लाख चन्दा उठाएर मन्दिरको पुनः निर्माण


भक्तपुर ।

भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् ।

विशेष गरेर भक्तपुर नगरबासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य (मन्दिर) पुनःनिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो ।

पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु भएको हो ।

साइट देखाएर सोअनुसार मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिरस्थल पुगेकी थिइन् ।

उपमेयरको उपस्थितिमा स्थानीयबासीहरु सहभागी भएर यहाँं मन्दिर भत्काउने काम सुरु भएको छ ।

मदिर एकतल्ले मात्रै छ । मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ ।

साथै माथि छानामा पनि सवै झिंगतीहरु झरेर विग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सवैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रुपमा ध्वस्त भने भएको छैन ।

मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणको लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ ।

यो सवै रकम सहयोग जुटाई मन्दिर पुननिर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए । यसकारण मन्दिर पुनर्निर्माणमा सक्नेहरुले सकेको आर्थिक, भौतिक, नैतिक सहयोग गर्न उनले सबैसँंग अनुरोध गरे । यसका लागि नगद तथा जिन्सी सहयोग गर्न सकिने उनले बताए ।

पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए । त्यसपछि अपौचारिक रुपमा जग हालेर काम सुरु गर्ने योाजना रहेको उनले जनाए । मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ ।

यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चित क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०र१५ रोपनीको सार्वजनिक जग्गाकोवीचमा रहेको छ ।

मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलिका प्रवेशद्धार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको वन्दोवस्तसहितको भवनलगायतका छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै करोडौको आथिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए ।

युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो । यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरु आउने उनले सुनाए ।
मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरुमा विशेष पूजा गर्न आउनेहरु हुन्छन् ।

यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो । यी महिनाहरुको प्रत्येक आइतबार र विहीबार गरी हप्तामा दुईदिन यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्दछ ।