२२ वर्षीय उमेश भन्छन् : ९ लाखको सयपत्री बेचिसकेँ, तिहारमा मात्रै हजार माला बेच्ने तयारीमा छु

२२ वर्षीय उमेश भन्छन् : ९ लाखको सयपत्री बेचिसकेँ, तिहारमा मात्रै हजार माला बेच्ने तयारीमा छु


सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-५ पारीबारी फूलैफूलले सजिएको छ ।

शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् ।

पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।

राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन् । उनी भन्छन्, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर ९ लाख आम्दानी लिइसकेको छु ।’

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गरेका एक वर्ष बितिसकेको छ । उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन्।

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेको थियो । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ ।

वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनी सुनाउँछन् । यपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गरेको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौंको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका-१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ ।

फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उनी गर्दै(सिक्दै, सच्याउँदै(सच्चिदै, बुझ्दै(बुझाउँदै अगाडि बढ्ने सोचमा छन् । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ ।

अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उनलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ ।

यता गोलञ्जोर गाउँपालिका(२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् ।

आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ ।

सयपत्री फूलखेती गरेका हमाल भन्छन्, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोपेका थिए । उनका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन ।

फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना रु तीन(पाँचसम्म किन्न पाइने हमालले जानकारी दिए । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ ।

तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उनको अनुमान छ । सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका-५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए ।

यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् ।

यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ ।

गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी(३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् ।

तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् ।