कार्यालयमा लफडा, सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयमा फिर्ता

कार्यालयमा लफडा, सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयमा फिर्ता


बारा ।

कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपाल, कामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किएका छन् ।

नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारी हाजिरी गर्न नपाएपछि मन्त्रालयमा नै फर्किएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयको सरुवा पत्र बोकेर हाजिर हुन सोमबार कार्यालयमा आएका थिए ।

तलब भत्ता र करार सेवा अवधि थप गर्नुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका शिक्षक र कर्मचारीले कार्यालयमा ३ सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन ।

नगरपालिका कार्यालयको तालाबन्दी नखुलेसम्म आफूले हाजिरी नगर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । कार्यालयमा लागेको ताल्चा जनप्रतिनिधिहरुले खोली दिनुपर्ने उनको भनाई थियो । हाजिर गर्न नपाएपछि आफूले कार्यालयको काम पनि गर्न नसक्ने उनले बताए ।

सिम्रौनगढ नगरपालिकका नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यालयमा जारी तालाबन्दीका कारण मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रसासकीय अधिकृत रन्जितजङ्ग अधिकारी फिर्ता जानु परेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएपछि आफूले वडा अध्यक्षहरुसंग कार्यालयको ताला खोल्ने पहल गर्न आग्रह गरेको तर ताला खोल्ने बारेमा कसैले पनि चासो नदेखाएपछि अधिकृत अधिकारी मन्त्रालयमा नै फिर्ता गएको नगर प्रमुख कलवारले बताए ।

नगर प्रमुख कलवारका अनुसार नेपाली कांग्रेस पार्टीबाट नगरपालिकामा निर्वाचित वडा अध्यक्षका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हाजिरी गर्न नपाएको र फिर्ता गएको बताए । ‘प्रमुख प्रशासकीय अधिकृत फिर्ता भएपछि फेरि पनि सामाजिक सुरक्षा भत्ता र शिक्षक कर्मचारीको तलब निकासा गर्न नसकिने अवस्था आयो, उनले भने, यसको लागि क्षमाप्रार्थी छु ।’ नगरपालिका कार्यालयमा ताल्चा मारेर धर्नामा बसेका शिक्षक, कर्मचारी र वडा अध्यक्षहरुले अधिकृत अधिकारीलाई आफूहरुकोे समस्या बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित वडा अवधेश सहनीले नगर सभाको सूचना प्रकाशित नभएसम्म कार्यालयमा लागेको ताला नखुल्ने बताएका थिए ।

उनले नगरप्रमुखले नगर सभाको सूचना काटेपछि मात्रै कार्यालयमा लागेको ताल्चा खुल्ने र कर्मचारीहरुले काम गर्ने वातावरण बन्ने बताए ।