Logo

गैंडाकोट नगरपालिकामा एमालेका नेता छत्र पौडेलले ७० वर्षको इतिहास भत्काउँदै


नवलपारासि । गैंडाकोट नगरपालिकामा कांग्रेसको ७० वर्षको इतिहास भत्काउँदै एमालेका नेता छत्र पौडेलले मेयरमा जितेका छन् । उपमेयरमा भने कांग्रेसकी बिष्णुकुमारी कँडेल सापकोटा विजयी भएकी छन् ।पञ्चायतकालीन राजनीतिदेखि अहिलेसम्म त्यहाँ नेपाली कांग्रेसको बर्चश्व थियो ।

पञ्चायतकालीन राजनीति र त्यसपछिका सबै निर्वाचनमा कांग्रेसको एकछत्रतालाई तोडदै पहिलोपटक एमालेको गठबन्धनले विजय हात पारेको हो । त्यहाँ एमाले, राप्रपा र जनमोर्चाबीच चुनावी तालमेल भएको थियो ।

.उपमेयरमा भने मेयरमा भन्दा बढी मत ल्याएर कांग्रेस विजयी भएको छ । ४६ वर्षीय छत्र पौडेलले कांग्रेका उम्मेदवार मत गजेन्द्र आले मगरलाई २६४ मत अन्तरले पराजित गरेका छन् ।

छत्र पौडेलले ११३०२ मत र गजेन्द्र आले मगरले ११०७८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसले ११५५५ मत र एमालेकी राधा पौडेलले १०४५६  मत प्राप्त गरेकी छन् ।

नगरापालिकाको निर्वाचनमा एमाले, राप्रपा र जनमोर्चाबीच तालमेल भएको थियो । छत्र पौडेल २०५४ सालको स्थानीय निर्वाचनमा गैंडाकोटबाट गाविस अध्यक्षमा चुनाव लड्दा ५०० मत अन्तरले कांग्रेससँग पराजय भोगेका थिए ।

‘पञ्चायतकालदेखि सुरु भएको कांग्रेससँगको लडाइ जितें,’ उनले भने, ‘कांग्रेसको एकछत्रराज तोडिएको छ ।’ गैंडकोटमा पञ्चायतकालमा पनि र २०४६ सालपछिको सबै  निर्वाचनमा कांग्रेसले जित्दै आएको हो ।

१८ वटा वडा रहेको गैंडाकोटमा ९ वटा वडा कांग्रेस र ९ वटा वडा एमाले गठबन्धनले हात पारेको छ । त्यहाको वडा नम्बर १, ३, ४, ६, ७, १२, १५, १७ र १८ कांग्रेसले जितेको छ ।

त्यसैगरी वडा नम्बर २, ५, ९, ८, १०, ११, १३, १४ नम्बर वडा एमालेले जितेको छ । १६ नम्बर वडा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

विजय भएपछि मेयर पौडेलले कांग्रेसको एकछत्रता तोडन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले दिर्घकालीन योजना बनाएर नगरको समृद्धिकालागि काम गर्ने प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्