Logo

कसले मार्ला महानगरमा बाजी


काठमाडौं । ‘२ लाख मत गन्न बाँकी छ, एक–डेढ सय मत गन्दैमा कसले जित्छ भनेर कसरी भन्न सकिन्छ र ?’ काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृह परिसर छेउमा एउटा पसलमा भेला भएका व्यक्तिहरूबीच चलिरहेको गफ हो यो ।

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम सुरु भएसँगै र विभिन्न ठाउँमा मतगणना जारी रहेका बेला कसले कहाँ बाजी मार्ला भनेर निकै चासो र चर्चा बढेकोे छ ।स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्नसँगै मतगणनाको काम धमाधम अघि बढिरहेको छ भने विभिन्न वडा तथा नगरपालिका÷गाउँपालिकाको परिणामसमेत धमाधम आउन थालेको छ ।

स्थानीय तहको नयाँ संरचनाअनुसार बनेका देशभरकै चार महानगरपालिकामा मतगणना भइरहेको छ । चारवटै महानगरपालिकामा करिब १ देखि २ लाखको संख्यामा मतदान भएकाले प्रारम्भिक नतिजाकै आधारमा कसले जित्छ भन्न सकिने अवस्था छैन । यद्यपि, सबै उम्मेदवार आपूmले जित्ने दाबी नै

गरिरहेका छन् ।

प्रारम्भिक नतिजाअनुसार सुरुको ५ सयवटा मत गन्दा काठमाडौं, भरतपुर, पोखरा महानगरपालिकामा एमाले अगाडि देखियो । ललितपुरमा भने कांग्रेस अगाडि छ । काठमाडौंमा एमाले अगाडि देखिए पनि उनका प्रतिस्पर्धीहरू भने रोचक देखिए । धेरैले कांग्रेस अगाडि आउने अनुमान गरेकामा विवेकशील पार्टीबाट उम्मेदवारी दिएकी २१ वर्षीया रञ्जु दर्शना दोस्रो, साझा पार्टीबाट उम्मेदवारी दिएका किशोर थापा तेस्रो र मेयरका बलियो दाबेदार मानिएका कांग्रेस उम्मेदवार भने चौथोमा समेटिए ।

कांग्रेस र माओवादीबीच तालमेल भएको पोखरामा कांग्रेसका प्रमुख (मेयर) लाई एमालेले सुरुको अवस्थामा पछि पा¥यो । उता, भरतपुरमा पनि एमालेले आफ्नो अग्रता कायम राख्न सफल देखियो । ललितपुर महानगरपालिकामा सुरुमा कांग्रेस अगाडि रहे पनि सोमबार साँझदेखि कांग्रेस उम्मेदवारभन्दा एमालेका उमेदवार अगाडि देखिए ।

के त्यसो भए एमालेले चारवटै महानगरपालिकामा बाजी मार्ला त ? एमाले सचिव प्रदीप ज्ञवाली सुरुवाती चरणमा चारवटै महानगरमा अग्रता देखिएको भन्दै चारवटै स्थानमा मेयर जित्ने दाबी गर्छन् । तर, कांग्रेस–माओवादी नेताहरू यो मान्न तयार छैनन् ।

प्रधानमन्त्री पुत्री मेयर उम्मेदवार बनेको भरतपुर महानगरपालिका जित्नेमा माओवादीहरू आशावादी छन् । तर, एमाले सचिव ज्ञवाली कांग्रेस माओवादी केन्द्रले भरतपुर र ललितपुरमा अपवित्र र नितान्त व्यक्तिगत स्वार्थका लागि तालमेल गरेकाले नकरात्मक भोटको फाइदासमेत आफ्नो पार्टीलाई आएको दाबी गर्छन् । ‘भरतपुर र पोखरामा उहाँहरूले एकजनाले आफ्नी छोरी उम्मेदवार बनाउन तालमेल गर्नुभयो, एकातर्फ अर्काले प्रधानमन्त्री बन्न तालमेल गर्नुभयो । त्यहाँ मतदाताहरूमा गलत गठबन्धनको आक्रोश छ, त्यो पनि हामीलाई फाइदा भएको छ,’ ज्ञवाली भन्छन् ।

माओवादी नेतृत्व भरतपुरमा सिटौला र रामचन्द्र पौडेल पक्षबाट असहयोग भए पनि अन्तिम समयमा निर्वाचनमा सक्रियताका साथ कांग्रेस कार्यकर्ता मतदानस्थलमा खटिएकाले कांग्रेसबाट आधा भोट माओवादीलाई खसेको अनुमानसहित जित्ने दाबी गर्छन् ।

भरतपुरमा कांग्रेसले आफ्नो पार्टीको मेयर उम्मेदवार फिर्ता गरेको थियो । तर, कांग्रेस कार्यकर्ताले त्यसमा असन्तुष्टि जनाएका थिए । यता, पोखरा महानगरपालिकामा माओवादीले आफ्नो उम्मेदवार फिर्ता लिएर कांग्रेसलाई सहयोग गरेको थियो ।

काठमाडौंमा  मेयरको बलियो दाबेदार कांग्रेस उम्मेदवार सुरुवाती चरणमा चौथोमा देखिए । माओवादी केन्द्र भने पाँचौं स्थानमा सुरुवाती चरणमा देखिएको छ । विवेकशील र साझा पार्टीका उम्मेदवार दोस्रो र तेस्रो स्थान देखिए ।

२ लाख मतगणनाका क्रममा अन्तिमसम्ममा कांग्रेसकै उम्मेदवार अगाडि बढ्ने कांग्रेस नेता कार्यकर्ताको दाबी छ । काठमाडौं महानगरमा गुठीहरूले निर्णय नै गरेर एमालेलाई मतदान गरेको तथा संघीय समाजवादी फोरमले पनि आन्तरिक रूपमा एमालेलाई नै सहयोग गरेको चर्चासमेत छ ।

गुठीहरूले एमालेलाई सहयोग गर्ने निर्णय गरेको र संघीय समाजवादीले पनि एमालेलाई सहयोग गरेको खण्डमा भने काठमाडौंमा एमालेले बाजी मार्ने सम्भावना छ । ललितपुरमा रातिसम्म एमाले उम्मेदवार अग्रस्थानमा देखिए पनि कांग्रेस नेता तथा कार्यकर्ताले आफ्नो पकडको भोट गन्न बाँकी रहेकाले अन्तिम समयमा जित्ने दाबी गरिरहेका छन् ।

केही हदसम्म एमालेले यसलाई स्वीकार गरेको पाइएको छ । तर, पोखरा र भरतपुर महानगरपालिकामा भने कसले बाजी मार्लान् भनेर अनुमान गर्न कठिन छ । भरतपुरमा माओवादीलाई जित्न कांग्रेस कार्यकर्ताको हात हुने देखिएको छ भने पोखरामा माओवादीले कांग्रेसलाई भोट नदिएमा जित्ने सम्भावना कम छ । दुवैमा कांग्रेस–माओवादीले ताममेल गरेका ठाउँ हुन् । यद्यपि, पोखरामा एमाले र कांग्रेस तथा भरतपुरमा माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा हुने सुरुवाती नतिजाले देखाएको छ ।

कतिपयले अहिलेको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञासमेत दिएका छन् । राजनीतिक विश्लेषक तुलानारायण साह भने अहिलेको गठबन्धनलाई सकरात्मक मान्दै गठबन्धन गरेका दलमध्ये सानोभन्दा ठूलो दललाई फाइदा हुने तर्क गर्छन् । ‘कांग्रेस र माओवादीबीच कांग्रेसलाई र एमाले र राप्रपाबीच एमालेलाई स्वाभाविक रूपमा बढी फाइदा हुने देख्छु,’ साहले राजधानीसँग भने, ‘तर निर्वाचनमा एलाइन्स जित्नका लागि अर्थात् आफ्नो पक्षमा जित लिनका लागि गरिने भएकाले अहिलेको गठबन्धनलाई म अस्वाभाविक भने मान्दिन ।’

एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने भएकाले यी दुईबीच तालमेल हुनै नसक्ने भन्दै कांग्रेस र मधेसवादी दलको भोट ब्याङ्क एउटै भएकाले बरु कांग्रेस–मधेसवादी दलबीच एकता भएमा त्यो भने अस्वाभाविक हुने उनको तर्क छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्