११ किलो सुन प्रकरण : तस्करबाट सस्तोमा सुन किन्ने व्यापारी पक्राउ

११ किलो सुन प्रकरण : तस्करबाट सस्तोमा सुन किन्ने व्यापारी पक्राउ


काठमाडौं ।

दोलखा सुन प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सोमबार साँझ काठमाडौंको महाजगञ्जबाट तिलक विकलाई समातेको हो।

विक सुन व्यापारी हुन्। उनको नमस्ते नामको ज्वर्लस पसल संचालन गरिरहेका छन्। चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौं आएको सुन विकले किन्ने गरेको अुनसन्धानमा खुलेको छ।

‘उनले अवैध सुन किन्ने गरेको देखिएपछि नियन्त्रणमा लिएका हौं,’ ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्।

सुरज प्रधानले लालबहादुर तामाङ मार्फत विकको पसलमा सुन बिक्री गर्ने गरेका थिए। उनको साथबाट प्रहरीले १२ तोला सुन समेत बरामद गरेको छ। विकलाई अनुसन्धानको लागि दोलखा पठाइ सकिएको छ।

अहिलेसम्म प्रहरीले दोललाई ‘रूट’ बनाएर तस्करी भएको ११ किलो सुन बरामद गरेको छ। सो प्रकरणमा चिनियाँ नागरिक सहित १० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीले असोज १० गते राति बिगु गाउँपालिका वडा नम्बर ३ जामुने स्थित सिता तामाङको घरमा बस्ने केशर तामाङ डेराबाट ४किलो सुन बरामद गरेको थियो। त्यसपछि बिगु गाउँपालिका बस्ने पेम्बा तामाङ, माधब मगर, काठमाडौं रामहिटी बस्ने नुर्वु छिरीङ शेर्पा, सुनमाला तामाङ, बिगु गाउँपालिका १ बस्ने चस्मान तामाङ, १७ वर्षको नाबालकलाई पक्राउ गरेको थियो।

त्यसको दुई दिनपछि लामाबगर स्थित आङफुर्वा शेर्पाको वारीमा ढुङ्गा मुनी लुकाई छिपाई राखेको अवस्थामा थप चार किलो सुन भेटिएको थियो।

दोलखा प्रहरीसँगै सीआइबीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। अनुसन्धानका लागि सीआइबीबाट दुई प्रहरी निरीक्षक सहितको टोली दोलखा पुगेको छ।