किलोको १३५ रुपैयाँमा चिनी बेच्ने व्यापारीलाई ५ हजार जरिवाना

किलोको १३५ रुपैयाँमा चिनी बेच्ने व्यापारीलाई ५ हजार जरिवाना


भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमबार नगरपालिकाको वडा नम्बर ६ नगरकोट एरियामा रहेको मिनीमार्ट र खाद्य पसल अनुगमन गरेको छ ।

उपभोक्ताको हित संरक्षणनार्थ त्यहाँं रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।

अनुगमनमा बलराम स्टोरमा चिनी प्रति के. जी.को १३५ रुपैयाँमा विक्री गरेको विक्री बिलबाट देखिएको तर खरिद बिल माग्दा देखाउन नसकेकोले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५ हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरुको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५ हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नविकरण गर्न निर्देशन दिइएको छ ।

लामा कोल्ड स्टोरले म्याद नाघेको समान जफत गरि नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरु छट्टै राख्न, मूल्य सूची राख्न र अन्त शुल्कको अनुमती लिएर मात्र मदिरा विक्री वितरण गर्न दिर्नेशन दिइएको छ ।

नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नविकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नविकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको समान बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिएका छन । साथै उक्त सप्लायर्सलाई मूल्य सूची राख्न, ढक तराजु नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नियमित अनुगमन हुने गर्ने र दशैँ र तिहार चाडपर्व नजिक बढ्नसक्ने उपभोग्य बस्तुहरुको कालोबजारी र गुणस्तरहीन बस्तुहरु बिक्रीवितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने जानाकारी दिए ।