Logo

कोरियाली प्रायद्धिपमा विवाद र युद्धको सम्भावना


सराेज खडका,कोरिया ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबापत १ अर्ब डलर तिर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सम्भावित परमाणु आक्रमणबाट बच्नको लागि गत वर्ष ‘टर्मिनल हाइ अल्टिच्युट एरिया डिफेन्स’ (थाड) प्रणाली कोरियाली प्रायद्धिपमा राख्ने सहमति भएको थियो । स्थानीय वासिन्दाको तिव्र विरोधका बावजुद दक्षिण कोरियाको सङ्जुस्थित क्षेत्रमा गत बुधबारदेखि थाड प्रणाली जडान गनेरु कार्यको शुरुवात भइसकेको छ । सोही प्रणालीका लािग दक्षिण कोरियाले उक्त रकम अमेरिकालाई तिनुपर्नेमा राष्ट्रपति ट्रम्पले जोड दिएको दक्षिण कोरियाको समाचार एजेन्सी योनहाफन्युजले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको स्वतन्त्र व्यापार सम्झौतालाई समेत पुनरावलोकन वा समाप्त गर्ने बताएका छन् । दक्षिण कोरियामा आगामी मे ९ मा हुन गइरहेको राष्ट्रपतिय निर्वाचनका उम्मेदवारहरुबीच बहसको विषय महत्वपूर्ण विषयहरुमध्ये थाड प्रणाली केन्द्रविन्दुमा रहदै आएको छ । यसअघिको राष्ट्रपति निर्वाचनमा समेत प्रतिद्वन्द्वि रहेका र हालको निर्वाचनमा पनि प्रतिस्पर्धीहरुमध्ये बलियो स्थितिमा रहेका मुन जे–इनले थाड प्रणालीको पुनरावलोकन हुनुपर्ने बताउन थालेका छन् । यसअघि उनले यो सम्झौता भइसकेकाले रोक्न नसकिने बताउदै आएक थिए । उत्तर कोरियाको सम्भावित आक्रमणाबाट बच्न यो प्रणाली आवश्यक रहेको ठान्ने कोरियनहरु पनि कम छैनन् । तर जडान कार्य भइरहेको ठाउँको स्थानीय बासिन्दाहरुले तिव्र विरोध जनाउँदै आएका छन् । उक्त प्रणाली हतारमा जडान गर्न दिएको भन्दै दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो–आन र रक्षामन्त्री हान मिन–कु अहिले सबैभन्दा धेरै आलोचित भएका छन् ।

यो प्रणालीको जडान कार्यले यो अब परिवर्तन गर्न नमिल्ने अवस्थामा पुगेको आलोचकहरुको भनाइ छ । साथै यो प्रणाली सन्चालनको अधिकार अमेरिकीहरुकै हातमा हुने भएकोले पैसा तिर्ने कुरा कुनै पनि हालतमा मान्य नहुने राष्ट्रपति उम्मेदवार मुन जे–इनले बताएका छन् । उता अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई बचाउने प्रणालीका लागि अमेरिकाले किन तिर्नुपर्ने भन्ने तर्क गर्दै हिलारी क्लिनटनले गरेको स्वतन्त्र व्यापार सम्झौतालाई पनि भयानक भनेका थिए । दक्षिण कोरियाको छिमेकी राष्ट्र चिनले पनि यो सम्झौतालाई रद्ध गर्दै कोरिया ल्याइएका सामानहरु फिर्ता लैजान आग्रह गरेको छ । चिनले यो प्रणालीको सम्झौता भएदेखि नै तिव्र रुपमा आफ्नो असन्तुष्टि प्रकट गर्दै आएको थियो । त्यति मात्र नभइ यो सम्झौताको विरोधस्वरुप हाल दक्षिण कोरियामा चिनियाँ पर्यटकहरु आउन छाडेका छन् । दक्षिण कोरियाको एक ठूलो व्यापारिक समूह लोट्टे गु्रपले चिनमा गरिरहेको कारोबारलाई बन्द गरिएको छ । दक्षिण कोरियामा चिनियाँ पर्यटकहरु यहाँको कस्मेटिक सामानका सबैभन्दा ठूलो ग्राहक रहेका थिए । हाल त्यो बजार ओरालो लागेको अवस्थामा छ । कोरिया–अमेरिकाबीच आज (शुक्रबार) सम्पन्न दुई दिने सुरक्षा छलफलपछि जारी संयुक्त विज्ञप्तिमा अमेरिकी रणनीतिक हतियारको तैनाथले उत्तर कोरियाको आणविक हतियार, क्षेप्यास्त्र प्रयोगको चुनौति निस्तेज पार्ने भनिएको छ । त्यसका लागि शुरु गरिएको थाड प्रणालीलाई पूर्ण रुपमा सन्चालनमा ल्याउने सहमति भएको जनाइएको छ । थाड प्रणाली केवल उत्तर कोरियाको सम्भावित आक्रमणको विरुद्ध रक्षात्मक उपायका लागि मात्र भएको विज्ञप्तिमा भनिएको छ ।

हाल दक्षिण कोरियामा अठ्ठाइस हजार पाँच सय अमेरिकी सेना तैनाथ छन् । ‘अमेरिका पहिला’ को नीति लिएर चुनाव जितेका अमेरिकी राष्ट्रपतिले दक्षिण कोरियालाई अमेरिकाले सुरक्षा गरिदिएबापत पैसा तिर्नुपर्ने बताउन थालिसकेका छन् । जुन कुरा उनले चुनावी नारामै प्रयोग गरेका थिए । यो प्रणालीको तैनाथले चिनसँग चिसिएको सम्बन्धले कोरियाको अर्थतन्त्रमा कति नोक्सान पुग्ने हो त्यो आगामी दिनमा थाहा हुने नै छ । त्यसमाथि कोरियाको निर्यातमुखि अर्थतन्त्रलाई अमेरिकाले पनि स्वतन्त्र व्यापार सम्झौतालाई ‘पुनरावलोकन’ गर्ने राष्ट्रपति ट्रम्पको भनाइबाट कोरियालाई यो प्रणाली निकै महँगो सावित हुने देखिन्छ । दुई कोरियाबीच चुलिएको विवाद पुन उत्कर्षमा पुगिरहेको बेला यसलाई युद्धको खतराको संकेतका रुपमा अर्थ लगाउनेहरु पनि धेरै छन् । के दुई कोरियाबीच युद्ध अवस्था आएको हो त ? हान्याङ विश्वविद्यालयका एसियाली व्यापारका प्रोफेसर यिम ह्यङ–रुकको भनाई भने फरक छ । “युद्ध भएको अवस्थामा उत्तर कोरियाले सबै थोक गुमाउने छ । त्यो देशको राजनीतिक प्रणालीले एउटा परिवारको नेतृत्वलाई निरन्तरता दिने व्यवस्था गरेको छ । जुन व्यवस्थालाई किम जोङ–उनले गुमाउन चाहादैन । त्यसकारण कोरियाली प्रायद्धिपमा युद्धको अवस्था आउने सम्भावना एकदमै न्युन छ । तर हाम्रो दुर्भाग्य यस्तै तनावको अवस्थामा बाँच्नु हाम्रो नियति हो ।”

प्रतिक्रिया दिनुहोस्