Logo

जेनरिक नाममा औषधि सिफारिस गरे सस्तो


काठमाडौ । डाक्टरले ब्रान्डेडको सट्टा जेनरिक (वैज्ञानिक) नामले औषधि सिफारिस गर्ने प्रावधान लागू गर्दा सस्तो पर्ने विशेषज्ञहरूले बताएका छन् । तर त्यस्तो व्यवस्था गर्नुअघि औषधि व्यवस्था विभागले मुलुकमा उपलब्ध सबै औषधि गुणस्तरीय रहेको सुनिश्चित गर्न उनीहरूले सुझाएका छन् ।

डाक्टरले जेनरिक औषधि अनिवार्य तथा स्पष्ट लेख्ने र सम्भव भएसम्म अंग्रेजी वर्णमालाको ठूलो अक्षरमा हुनुपर्ने प्रावधान स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने विज्ञहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल क्लिनिकल फर्माकोलजी विभागका प्रमुख प्रा.डा. संघरत्न बज्राचार्यले जेनरिक नाममा सिफारिस गर्ने प्रावधान कार्यान्वयन गरिए औषधि सस्तो भएर उपभोक्तालाई फाइदा हुने बताए ।

नेपाल मेडिकल काउन्सिल, इथिकल कमिटीका संयोजक एवं त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फर्माकोलोजिस्ट डा.सतीश देवका अनुसार काउन्सिलको आचारसंहितामा चिकित्सकलाई जेनरिक नाममा औषधि सिफारिसका लागि प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । यसले व्यक्तिगत फाइदाका लागि औषधि लेख्ने चलनमा समेत कमी ल्याउँछ ।

जेनरिक औषधि उत्पादकबाट सीधै रिटेलरसम्म पुग्छ । यो औषधिको प्रचारप्रसारमा कम्पनीलाई केही खर्च हँुदैन । मुलुकमा ब्रान्ड नाममा धेरैजसो औषधि उपलब्ध भए पनि ती जेनरिक औषधि जस्तै रहेको डा. देव बताउँछन् ।

‘किनभने ब्रान्ड नाम भएको औषधिको खोज, विकास र बजारीकरण औषधि कम्पनीले गरेको हुन्छ,’ उनले भने, ‘केही निश्चित समयसम्म यस्ता कम्पनीले आफ्नो लागत खर्च प्राप्त गर्न विशेष मूल्य तोक्छन् । केही खास समयपछि यस्ता ब्रान्ड नामको औषधिमा भएको एकाधिकार टुट्छ र जोसुकै कम्पनीले जेनरिक नामले उत्पादन गर्न पाउँछन् ।’

सामान्य रूपमा भन्दा, ज्वरो कम गर्ने औषधि ‘पारासिटामोल’ त्यही नामले बजारमा उपलब्ध छ भने यसलाई जेनरिक औषधि भनिन्छ । तर निको, सिटोफेन, क्यालपोल, क्रोसिन, मेडामोल, पामोल, एल्जिना आदि यसका ब्रान्ड नाम हुन् ।
जेनरिक र ब्रान्ड नाम भएको दुवै औषधिमा उपयोग हुने फर्मुला र रसायन एउटै हुन्छ । दुवै औषधिको लिने तरिका, तीव्रता, खुराक र बन्ने प्रक्रिया एउटै हुन्छ । ‘ब्रान्डेड र जेनरिक औषधिमा गुणस्तर होइन, फरक मूल्यको मात्र हुन्छ,’ नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने ।

औषधिको अविष्कार जेनरिक नामले भए पनि औषधि कम्पनीले यसलाई आफ्नो ब्रान्ड नामले बजारमा प्रस्तुत गर्छन् । ‘यो प्रस्तुत गर्ने प्रक्रियाले नै औषधिको मूल्य थुप्रै गुणा बढ्छ । यसको फाइदा औषधि कम्पनीका मालिक, बिचौलिया र केही डाक्टरलाई हुन्छ भने बिरामी ठगिइन्छन्,’ हुमागाईंले भने ।

सामान्य जुकाको औषधि ‘एल्वेनडाजोल’ सरकारले जेनरिक नाममा किन्दा बजारमा पाइने मूल्यको दाँजोमा पाँच गुना सस्तो खरिद गर्ने उल्लेख गर्दै हुमागाईं भन्छन्, ‘जेनरिक नाममा औषधि किन्दा यसमा बजारीकरण, नदेखिएका मूल्य, बिक्रेता र सिफारिसकर्तालाई दिइने लाभ आदि नहुने भएकाले सस्तो हुन्छ ।’ उनी जेनरिक नाममा औषधि प्रस्ताव गर्नुपर्ने प्रक्रिया सरकारी रूपमै बढाउनुपर्ने बताउँछन् ।

‘औषधिको वास्तविक मूल्य धेरै कम हुन्छ तर यसलाई ५ देखि ५० गुणासम्म बढाएर बेचिन्छ,’ एक प्रसिद्घ मल्टिनेसनल औषधि कम्पनीका मेडिकल प्रतिनिधि भन्छन्, ‘कमिसनको चाहनामा डाक्टरले समेत ब्रान्डेड औषधि लेख्छन् र यसको वकालत गर्छन् ।’

विशेषज्ञहरूले बेलाबेला जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने औंल्याउँदै आए पनि पहल भएको छैन । औषधि व्यवस्था विभागले मुलुकमा उपलब्ध औषधिहरू शतप्रतिशत गुणस्तरीय रहेको ग्यारेन्टी गर्ने स्थिति कायम गरे कुनै पनि बेला जेनरिक नाममा औषधि सिफारिस गर्ने प्रक्रियामा जान सकिने जनस्वास्थ्य सरोकार ट्रस्टका कार्यकारी निर्देशक डा. भरत प्रधान बताउँछन् ।

सरकारको नीति पनि जेनरिक नामले नै औषधि सिफारिस गर्ने रहेको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मुलुकमा जेनरिक नामले औषधि सिफारिस गर्न अप्ठ्यारो नरहेको बताउँछन् । उनी पनि जेनरिक नाममा सिफारिस गर्दा मूल्यमा उल्लेख्य कमी आउने बताउँछन् ।

उनका अनुसार यसका लागि सरकारले औषधि व्यवस्था विभागमा सुधार गर्नुका साथै गुणस्तर सुनिश्चित गर्ने इकाईलाई अझ बलियो र भरपर्दोसमेत बनाउनुपर्छ । ब्रान्ड नामको औषधि बिक्री वितरण गर्न केही औषधि सिफारिसकर्ताले समेत उत्पादकलाई सघाएको ढकाल बताउँछन् । कान्तिपुर  दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्