काठमाडौं र ललितपुरका यी ठाँउमा आजदेखि ३ दिन विजुली नआउने

काठमाडौं र ललितपुरका यी ठाँउमा आजदेखि ३ दिन विजुली नआउने


काठमाडौं ।

काठमाडौं र ललितपुरका केही ठाउँमा शुक्रबारदेखि लगातार ३ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्नेछ ।

त्यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ ।