‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’

‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’

पालिकाबासीले आधारभूत सुविधा पाए भने मेराे ठुलाे उपलब्धि हुनेछ : मेयर यादव


लोहरपट्टी नगरपालिका मधेस प्रदेशको महोत्तरी जिल्लामा रहेको पालिका हो । विकासका दृष्टिकोणले हेर्ने हो भने यहाँ भर्खरै विकासका सामान्य पूर्वाधार तयार हुँदै छन् । शून्य अवस्थाबाट आफूले पालिकाको बागडोर सम्हालेको बताउने पालिका प्रमुख शैलेन्द्रकुमार यादव आफ्नो पालिकाको विकासमा यहाँका सबै जनप्रतिनिधि एकजुट रहेको ठोकुवा गर्छन् ।

यस नगरपालिकाका ९० प्रतिशत जनप्रतिनिधि पुरानै अनुहारका छन् । पालिका प्रमुखकै भनाइलाई सापटी लिने हो भने उनीहरूले गरेको कामले गर्दा नै यहाँका जनताले उनीहरूलाई रुचाए र भोटमार्फत् दोहोर्‍याए ।

ठुला कुरा गर्ने भन्दा पनि नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्य बनाएका उनै यादवसँग ‘गाउँको सरकार’का लागि पालिकाका विविध पक्षमा केन्द्रित रहेर विकास टाइम्सले कुराकानी गर्ने जमर्को गरेको छ ।

पालिका प्रमुख शैलेन्द्रकुमार यादवसँग सहकर्मी कृष्ण उप्रेतीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

२०७४ सालदेखि जनप्रतिनिधिका रूपमा काम गररिहनुभएको छ । निरन्तर जनताको काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ? अनि त्यहाँका जनताले तपाईँलाई विश्वास गर्नुको कारणचाहिँ के हो ?

जनप्रतिनिधिका रूपमा मेरो अनुभव त साह्रै राम्रो छ । किनकि म पहिलेदेखि नै समाजसेवामा लागेको व्यक्ति हुँ । यहाँका जनताको आवश्यकतादेखि समस्यासम्म मलाई राम्रैसँग थाहा छ । यहाँका अधिकांश नागरिकलाई म व्यक्तिगत रूपमै चिन्छु पनि । यसले गर्दा पनि मलाई काम गर्न सहज बनाएको छ ।

२०७४ सालदेखि नै म यहाँको मेयरका रूपमा छु । २०७९ को निर्वाचनमा पनि मलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराउनुभएको हो । यस अर्थमा यहाँका नागरिकले मलाई राम्रै नजरले हेरेको अनुभूति हुन्छ ।

यहाँको अर्को राम्रो पक्ष के पनि छ भने यहाँ राजनीतिक द्वेष कसैमा पनि छैन । यसले गर्दा पनि मलाई काम गर्न सहज भएको छ । हामी सबै राजनीतिक दलका नेताहरू मिलेरै पालिकाको विकास गर्छौँ ।

लोहरपट्टीमा तपाईँको यो दोस्रो कार्यकाल हो । करिब साढे ६ वर्षदेखि पालिकाको नेतृत्व सम्हालिरहनुभएको छ । यसबीचमा पालिकाभित्र विकासका के–के काम भए ? जानकारी गराइदिनुस् न ।

सायद मधेस प्रदेशको बारेमा सबैजना जानकार हुनुहुन्छ होला । गरिबी, अशिक्षा जस्ता कुराले जकडिएको प्रदेश हो यो । त्यसमाथि लोहरपट्टी नगरपालिका धैरै कुरामा पिछडिएको नगरपालिकामा पर्छ ।

म आउनुभन्दा पहिले यहाँ कुनै पनि पूर्वाधारका विकास भएको थिएन । यहाँ न विद्यालय थिए, न उचित स्वास्थ्यचौकी थियो न सडक नै थिए । हामीले यहाँ शून्य अवस्थाबाट सुरु गरेका हौँ ।

२०७४ मा मेरो पहिलो कार्यकाल सुरु हुँदा यहाँ १ मिटर पनि पक्की सडक थिएन । अहिले अधिकांश ठाउँमा पक्की सडक बनेका छन् । शिक्षाको क्षेत्रमा पनि अवस्था त्यस्तै थियो । म आएपछि यहाँका २२ वटा विद्यालयले आफ्नै पक्की भवन पाएका छन् । साथै, सबै विद्यालयमा शिक्षकको पनि व्यवस्था भएको छ ।

त्यसैगरी हाम्रो ९ वटै वडामा स्वास्थ्यचौकी निर्माण गरी यहाँका जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने काम यो ६ वर्षको बीचमा हामीले गरेका छौँ ।

समग्रमा भन्नुपर्दा हामीसँग उपलब्ध स्रोत र साधनको पूर्ण रूपमा प्रयोग गरेर हाम्रो तर्फबाट आफ्नो पालिका बनाउन शतप्रतिशत योगदान गरेका छौँ ।

लोहरपट्टीमा त एमाले, लोसपा र कांग्रेसबाट आएका जनप्रतिनिधिहरू हुनुहुन्छ । पालिकाको हरेक काम र निर्णयमा ती सबै दलको विचार र योजनालाई तपाईँले स्वीकार गर्नु भएको छ ? केही पालिकामा त मेयरले पेलेरै अघि बढ्ने गरेको पनि देखिन्छ । तपाईँकोमा के छ ?

अरू पालिकामा अवस्था के छ भन्ने कुरा मलाई जान्नु छैन । तर, मेरो पालिका त्यस्ता कुराबाट धेरै टाढा छ । मैले तपाईँलाई अघि नै भनिसकेँ– यहाँ राजनीतीक द्वेष कसैमा पनि छैन ।

यहाँका हरेक कुराहरू बहुमतभन्दा पनि सर्वसम्मत रूपमा हुन्छ । पालिकामा मेरो बहुमत छ, तर सबै जनाले स्वीकार नगरीकन कुनै पनि योजना पास हुँदैन । मैले अहिलेसम्म बहुमतबाट कुनै निर्णय गराएको छैन । चाहे त्यो कार्यपालिका होस् या नगरसभा, हामी सर्वसम्मतिबाटै अघि बढ्छौँ ।

विशेष गरी मधेस प्रदेशका पालिकाहरूमा प्रमुख बढी हाबी हुने र उप–प्रमुखहरूलाई दबाउने प्रयास भएका थुप्रै घटना बाहिरिएका छन् । यही कारण उप–प्रमुखहरू त्यति सक्रिय भएको पनि देखिँदैन । लोहरपट्टीको उपप्रमुखको सक्रियता कस्तो छ ?

महोत्तरीमा रहेका पालिकामध्ये न्यायिक समिति सबैभन्दा बढी सक्रिय रहेको पालिका हाम्रै हो । अब भन्नुस् यहाँको उपप्रमुख कति सक्रिय हुनुहुन्छ । तपाईँले भनेको कुरामा सत्यता पनि छ । तर, त्यो सबै पालिकामा लागू हुँदैन ।

अहिलेका उपप्रमुख पनि दोहोरिएरै निर्वाचित हुनुभएको हो । सायद उहाँको काम र सक्रियताकै कारण यहाँका जनताले उहाँलाई पुनः काम गर्ने मौका दिएका होलान् । उहाँले गर्नुपर्ने काम आफ्नो इमान साथ गरिरहनुभएको छ ।

अब मेयर र उपमेयरबीचको कुरा गर्ने हो भने यसका लागि हामीलाई संविधानले आ–आफ्नो काम दिएको छ । यसमा कसैले दबाउने र दबिने भन्ने सवाल नै उठ्दैन ।

कतिपय पालिकामा मेयरले उपमेयरलाई काम गर्न दिएनन् भन्ने मैले पनि सुनेको छु । तर, त्यसो किन भइरहेको छ मैले पनि बुझ्न सकेको छैन । जबकि हामी दुवै जनाको आ–आफ्नो अधिकार र कार्य क्षेत्र हुन्छ भने समस्या किन निकाल्नु ? मैले भन्ने यही नै हो ।

तपाईँको पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ कि हुनुहुन्न ? अनि पालिका प्रमुख र प्रशासकीय अधिकृतबीच टसलका घटना बेलाबखतमा सुनिन्छन् । यसको कारण के होला ?

अहिले मेरो पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न । यहाँ हुनुभएको प्रशासकीय अधिकृत भर्खर २० दिनअघि मात्रै आफ्नो व्यक्तिगत कारणले गर्दा सरुवा भएर जानुभएको हो । उहाँ गएपछि हामीले मन्त्रालयसँग माग गरेका छौँ । सायद नयाँ प्रशासकीय अधिकृत चाँडै आउनुहुन्छ होला ।

तपाईँले भन्नुभएको टसलको विषयमा चाहिँ म एउटा मात्र कारण देख्छु । त्यो हो– समन्वय र संवादको अभाव । मेरो ६ वर्षभन्दा बढी समयको कार्यकालमा कुनै प्रशासकीय अधिकृतसँग नराम्रो भएन ।

मैले जो आए पनि उहाँहरूसँग समन्वय गरेरै काम गरेँ र निरन्तर संवादमा बसेँ । त्यसैले मसँग त्यस्ता घटना घटेनन् । सायद घट्ने पनि छैनन् ।

तपाईँ २ कार्यकाल पालिका प्रमुखमा निर्वाचित भइसक्नुभयो । अब तेस्रो पटकका लागि संविधानले नै तपाईँलाई रोकेको छ । अब आफ्नो बाँकी कार्यकालसम्म पालिकालाई कहाँ पुर्‍याउने लक्ष्य छ ? विकासको दृष्टिकोणबाट यसको जबाफ दिनुस् न ।

अब हेर्नुहोस् पालिकालाई कुन उचाइमा पुर्‍याउने भन्ने कुराको मसँग जबाफ छैन । किनभने मधेस प्रदेशको पिछडिएको पालिकाको मैले नेतृत्व गरेको हुँ । मैले अघि नै भनेँ– म यहाँको नेतृत्वमा आउँदा यहाँ विकासका सामान्य पूर्वाधार पनि थिएनन् । अहिले बिस्तारै त्यसले आकार लिँदै छ ।

अब नगरपालिकालाई कहाँ पुर्‍याउने भन्दा पनि यो नगरपालिकालाई नगरपालिका जस्तो बनाउने मेरो चाहना हो । हामीले त्यति मात्र गर्न सक्यौँ भने त्यो हाम्रा लागि ठुलो उपलब्धि हो ।

यहाँका सबै बालबालिका विद्यालयसम्म जान पाऊन्, सबैको पहुँचमा स्वास्थ्य सेवा होस्, नागरिक राम्रो सडकमा हिँड्न पाऊन्, सबैको खेतमा कुलो–पैनी पुगोस्, किसानले समयमै बिउबिजन पाउन सकून्– त्यति हो चाहिएको । त्यति नगरपालिकाले गर्न सक्यो भने ठुलो उपलब्धि भएको म ठान्छु ।

गाउँकाे सरकार शृंखलाः

१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’