अनि आधा छाेटिनेछ सूर्यविनायक-रत्नपार्क यात्रा समय

अनि आधा छाेटिनेछ सूर्यविनायक-रत्नपार्क यात्रा समय


काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ ।

राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए ।

‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौँ,’ मन्त्री ज्वालाले भने, ‘आगामी असोज १ देखि भक्तपुरको सूर्य विनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौँ ।’

तत्कालका लागि द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दामाथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए ।

‘नेपाली मोडेलको र्‍यापिड बस सर्भिस हो,’ सचिव शर्माले भने, ‘सडकको लेनदेखि बसको आकार नै फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारीमा जुटेका छौँ ।’

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ । द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड परमिटको व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्यधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घटा ३० मिनेट लाग्ने गरेको छ ।

‘द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामका बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दै छौँ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने ।

मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विभागका उप महानिर्देशक रामहरि पोखरेल, निजी सचिव रामहरि शर्मा, ट्राफिक प्रहरीका डिआइजी र एसएसपी, यातायात व्यवसायी महासंघका पदाधिकारीहरूसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।